तीन दशकपछि पहिलोपटक टेस्ट राष्ट्रमाथि जित : नेपाली क्रिकेटले रच्यो नयाँ इतिहास

आश्विन १२, २०८२ |सुवास रोकाया
तीन दशकपछि पहिलोपटक टेस्ट राष्ट्रमाथि जित : नेपाली क्रिकेटले रच्यो नयाँ इतिहास

काठमाडौं । युनिटी कपअन्तर्गत शारजाहमा शनिबार राति सम्पन्न पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले दुई पटकको विश्वकप च्याम्पियन वेस्टइन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ । 

यसअघि कहिल्यै पनि टेस्ट राष्ट्रलाई हराउन नसकेको नेपालले ३ दशक लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रापछि पहिलोपटक यस्तो उपलब्धि हासिल गरेको हो । कप्तान रोहित पौडेलको संयमित खेल र बलरहरूको अनुशासित प्रदर्शनमा टेकेर नेपालले चुनौतीपूर्ण स्कोरको रक्षा गर्‍यो । 

यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिनुका साथै सम्पूर्ण नेपाली क्रिकेटप्रेमीलाई गौरवान्वित बनाएको छ । शनिबार राति नेपाली क्रिकेटप्रेमीका लागि विषेश रहृयो । 

देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण तनावमा रहेको सिङ्गो देशलाई राष्ट्रिय पुरूष क्रिकेट टिमले अहिलेसम्मकै ठूलो सेलिब्रेसनको अवसर दियो । दुई पटकको विश्वकप च्याम्पियन वेस्टइन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पार्‍यो । 

मौनधारणबाट सुरू भएको युनिटीकपको पहिलो खेल जितको उल्लासमा आएर समाप्त भयो । यो नेपाली क्रिकेटले हासिल गरेको हालसम्मकै ठूलो जित हो । ऐतिहासिक जितसँगै नेपालले १ सय ८० अन्तर्राष्ट्रिय खेलपश्चात् पहिलो पटक कुनै टेस्ट राष्ट्रलाई पराजित गरेको हो । 

यसले नेपाली क्रिकेटमा सम्भावनाको नयाँ ढोका खोलिदिएको छ । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । सुरूवातमा ब्याटिङ गर्ने मनसायमा रहे पनि नेपालले टस हारेको थियो । तर जब वेस्ट इन्डिजले सुरूवातमा फिल्डिङ गर्ने निर्णय गर्यो कप्तान रोहितले टस हार्नुको अर्थ नरहेको बताए ।

त्यसपछि पहिले ब्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा १ सय ४८ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो । कप्तान रोहितले ३८ रन बनाए भने कुशल मल्लले ३० रनको योगदान दिए । 

सुस्त सुरूवात गरेको नेपालका लागि कुशल मल्ल र रोहितले ५८ रनको साझेदारी गर्दै उकासेका थिए । वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिँदै आक्रामक बलिङ गरे भने नवप्रवेशी नविन बिडाईसीले ३ विकेट हात पारे ।

१४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले ९ विकेट गुमाउँदै १ सय २९ रनमा सीमित भयो । खेलको सुरूवातमै कुशल भुर्तेलको डाइरेक्ट हिटले काइल मायरसलाई रनआउट गरेपछि वेस्टइन्डिज दबाबमा पर्‍यो । 

नेपालका स्पिनरहरूले मध्यम ओभरमा नियन्त्रण कायम गर्दै विपक्षी ब्याट्सम्यानलाई रन बनाउन दिएनन् । भुर्तेलले बलिङमा समेत २ विकेट हात पारे भने करन केसी, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र ललित राजवंशीले पनि उत्कृष्ट योगदान दिए ।

नेपालको उत्कृष्ट फिल्डिङ खेलको निर्णायक मोड बन्न पुग्यो । दिपेन्द्रसिंह ऐरीले गरेको अप्रत्यासित डाइरेक्ट हिट र भुर्तेलले लिएको सनसनीपूर्ण क्याच दर्शनीय रहे । वेस्टइण्डिजका होल्डर, हेसिन र एलनले अन्तिमतिर प्रयास गरे पनि नेपालको अनुशासित बलर र चुस्त फिल्डिङ अगाडि टिक्न सकेनन् । 

अब नेपालको लक्ष्य सिरिज आफ्नो बनाउनेमा केन्द्रित रहने छ । प्लेयर अफ द म्याचबनेका कप्तान रोहितले यो अवार्ड नेपालमा हालै भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदलाई समर्पण गरे ।

ओपनर भुर्तेलले भने २ पटकको विश्व विजेता वेस्टइन्डिजजस्तो टिमलाई हराउनु ठूलो गर्वको विषय भएको बताए । साथै उनले कार्डीया किड्सको उपनाम पनि हटाउन सफल भएको उल्लेख गरे ।

नेपालको जितमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकता दिँदै हौसला थपेका छन् । प्रतिस्ठित क्रिकेट क्लबहरू, खेलाडी तथा कमेन्टेटरले पनि नेपाललाई बधाई दिए । 

हाल टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपालका लागि यस जितले सम्भावनाका कैयौं अवसरहरू खोलेको छ । अब सम्भावनालाई सफलतामा बदल्न खेलाडी र क्यानले थप जिम्मेवार भएर अघि बढ्नु पर्नेछ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।