नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी-२० आई आज हुँदै

आश्विन १३, २०८२ |खेल ब्युरो
नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी-२० आई आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी-२० आई साेमबार हुँदैछ । तीन खेलको सिरिजमा नेपाल १-० ले अघि छ ।

यूएईको शारजाहा क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार राती सवा ८ बजे सुरू हुनेछ । पहिलो खेलमा नेपाल १९ रनले विजयी हुँदै इतिहास रच्न सफल भएको थियो । 

नेपालले टेस्ट मान्यता प्राप्त देशमाथि हात पारेको यो पहिलो जीत हो । पहिले ब्याटिङ गरेको नेपालले १ सय ४८ रन बनाएको थियो । नेपालको जीतमा कप्तान रोहितले सर्वाधिक ३८ र कुशल मल्लले ३० रन बनाएका थिए ।

जाफमा वेस्ट इन्डिज १ सय २९ रनमा समेटियो । पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखको जोडी चल्न सकेन् । यदि आज वेस्ट इन्डिजलाई पराजित गर्ने हो भने कुशल र आसिफले बलियो सुरूवात दिनु आवश्यक हुनेछ ।  

यो खेल जिते रोहित पौडेलको टिमले सिरिज जित्दै इतिहास बनाउनेछ । पहिलो खेलमा सन्दीप लामिछानेले खेलेका थिएनन् भने् नन्दन यादव पनि पहिलो खेलमा बलिङ गर्ने क्रममा घाइते भएका थिए । संभवत: यादवलाई प्रशिक्षक लले आराम दिनेछन् । 

यता वेस्ट इन्डिज खेल जित्दै सिरिज १-१ को बराबरीमा पुर्याउने लक्ष्यमा हुनेछ । नेपालले टी-२० विश्वकप छनाेटको तयारीका लागि वेस्ट इन्डिजसँग सिरिज खेलेको हो । त्यसैले प्रशिक्षक लले परिक्षण पनि गर्न सक्नेछन् । 

नेपाल र वेस्ट इन्डिजबीचको खेलको प्रि-म्याच एनालाइसिससहितको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुनेछ ।