दशैंको नवरात्र अन्तरगत आज महाअष्टमी, महागौरीको पूजाआरधना गरिदै‌‌

देशभरका देवी मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीको भीड
आश्विन १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
दशैंको नवरात्र अन्तरगत आज महाअष्टमी, महागौरीको पूजाआरधना गरिदै‌‌

काठमाडौं । बडा दशैको नवरात्र अन्तर्गत आज अष्टमी, महागौरीको पूजाआरधना गरिदैछ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको शक्ति अमोघ रहेको र यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको जनविश्वास छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।

आजको दिन विभिन्न शक्तिपीठहरूमा बलि दिइन्छ । सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्त्विक पूजामा जल, चन्दन, अक्षत आदिसहित षोडशोपचारले पूजा गरिन्छ । सात्त्विक र राजसमा पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजस पूजामा मदिरा चढाएर पूजा गर्ने र पशुबलि दिने परम्परा छ । पशुबलि नचढाउनेहरूले भने पूजा कोठामा आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदिलाई बलि चढाई पूजाआजा गर्ने गर्छन् ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्‍देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष विजया दशमी असोज १६ गते बिहीबार परेको छ । त्यसदिन बिहान ११ बजेर ५३ मिनेटमा देवीको प्रसाद र टीका ग्रहण गर्न उत्तम हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.