एसीसी टी-२० एसिया कप : आज भारत र पकिस्तान भिड्दै

आश्विन ५, २०८२ |खेल ब्युरो
एसीसी टी-२० एसिया कप : आज भारत र पकिस्तान भिड्दै
Photo Source : Agency

काठमाडौं । एसीसी टी-२० एसिया कप क्रिकेटमा आइतबार राति भारतले पकिस्तानको सामना गर्नेछ। 

विश्व क्रिकेटको हेभीवेट मानिने यो खेलमा भारत आफ्नो दबदबा राख्ने योजनामा हुनेछ भने पाकिस्तान भारतको पछिल्लो जितको लयलाई तोड्ने योजनामा छ।

यी दुई टिमबीच एकै साताका बीच दोस्रो खेल खेल्न लागेका हुन्। अघिल्लो साता भएको खेलमा भारतले सात विकेटले पाकिस्तानलाई हराएको थियो। त्यसो त, भारत र पाकिस्तानबीच भएको पछिल्ला पाँच टी-२० खेलमा भारतले चार खेल जितेको छ भने पाकिस्तान एक खेलमा मात्रै विजयी भएको छ। 

पछिल्लो १३ वर्षमा पाकिस्तानले केबल २ पटक मात्रै भारतलाई हराएको छ। कुनै समय विश्व क्रिकेटकै शक्तिशाली टिम पाकिस्तान अहिले राम्रो फर्ममा भने छैन । उसले टी-२० फरम्याटको एसिया कप पनि जित्न सकेको छैन । 

यद्यपि पाकिस्तानका फखर जमान साहिबजादा फरहान भने राम्रो लयमा छन्। जमानले नौ खेलमा दुई सय ६५ रन बनाएका छन्। बलिङमा मोहम्मद नवाज र सैम अयुबको जादु चल्न सके पाकिस्तानले आइतबार भारतलाई रोक्न सक्नेछ।

अहिले भारतीय टिमका अभिषेक शर्मा र तिलक बर्मा राम्रो फर्ममा रहेका छन्। उच्च रनकर्ताको सूचीमा सातौं स्थानमा रहे पनि अभिषेक भारतीय टिमका कन्सिस्टेन्ट खेलाडी हुन्। 

यसैगरी कुलदीप यादव जनुसकै खेलमा खास बन्दै आइरहेका छन्। उनले तीन खेलमा नौ विकेट लिइसकेका कारण यो खेलमा पाकिस्तानलाई ठूलो क्षति गराउने सक्ने खेलाडी नै कुलदीप हुन्। अक्षर पटेल र जसप्रित बुमराह पनि महत्वपूर्ण खेल हुँदै जाँदा यी खेलाडीको प्रदर्शन सुधार हुँदै गइरहेको छ।