बौद्ध भिक्षुहरूले वर्षाबासमा बिताए दुई महिना, लुम्बिनीमा वर्षाबास गरे पूण्य सञ्चय हुने विश्वास

आश्विन ५, २०८२ |मनोज पौडेल
बौद्ध भिक्षुहरूले वर्षाबासमा बिताए दुई महिना, लुम्बिनीमा वर्षाबास गरे पूण्य सञ्चय हुने विश्वास

रूपन्देही । बौद्ध धर्मावलम्बी भिक्षुहरू यतिबेला बिहारमा ध्यानसाधना र देशना गरी वर्षाबास बसिरहेका छन् । 

तीन महिने वर्षाबासको दुई महिना बितिसकेको छ । बुद्धकै पालादेखि चलिआएको यो परम्परामा भिक्षुहरू वर्षाबास कसरी बसिरहेका छन् ? यो जिज्ञासा मेटाउन हेरौं यो रिपोर्ट ।

भिक्षुहरू बिहान ४ बजे उठेर नित्यकर्म गरी ध्यानसाधना गर्छन् । ७ बजेतिर भिक्षापात्र बोकेर गाउँतिर निस्केर घरघर पुगी भिक्षा माग्छन् । गाउँलेहरू आफुले पकाएका दालभात, तरकारी रोटी र अचार दिन्छन् । त्यसक्रममा कतिपय ठाउँमा मानिसहरूद्वारा भिक्षुहरूको चरण स्पर्श र खुट्टा धोएर आदर गरिन्छ ।

भिक्षुहरू ११ नबज्दै बिहारमा फर्किन्छन् । त्यसपछि भिक्षाटनमा पाएका र बिहारमा पाकेका परिकार मिसाएर खान्छन् । भोजनपछि केही समय आरामलाई छुट्याइएको हुन्छ । ४ बजेतिर धम्म देशना गर्छन् । 

साँझ साढे ७ बजेदेखि ९ बजेसम्म प्रार्थना र परित्राण पाठ गर्छन् । राति खाना नखाई झोलिलोकुरा सेवन गरेर सुत्छन् । अहिले लुम्बिनी, तिलौराकोट, निग्रोधाराम र रामग्राममा भिक्षुहरू वर्षाबास बसेका छन् । 

तीन जिल्लाका चार ठाउँमा बसेका भिक्षुको दैनिकी दुई महिनदेखि यसैगरी चलिरहेको छ । बौद्ध धर्मको मेरूदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटिबाट क्षमादान पाउने विश्वासमा भिक्षु-भिक्षणी वर्षाबास बस्ने गर्छन् ।

वर्षाबास बस्न थाइल्यान्डबाट २० जना भिक्षु नेपाल आएका छन् । उनीहरू लुम्बिनीको रोयल थाई र शाक्यमुनी बिहारमा बसेका छन् । त्यस्तै लुम्बिनीकै म्यान्मार गोल्डेल टेम्पल, श्रीलंका महाविहार र महाबोधी सोसाइटीमा पनि भिक्षुहरू वर्षाबास बसेका छन् । 

कपिलवस्तुको तिलौराकोट र निग्रोधाराम तथा पश्चिम नवलपरासीको रामग्राममा नेपाली, थाई, म्यान्मार र श्रीलंकाका गरी ३८ जा भिक्षु वर्षाबास बसेका छन् । बुद्धस्थलमा आएर बर्साबास बस्दा पुण्यसञ्चय र लाभ हुने विश्वासले धेरै विदेशी भिक्षु भिक्षुणी लुम्बिनी आउन रूचाउँछन् ।

असारदेखि असोज पूर्णिमा ३ महिना वर्षाबास हुन्छ । वर्षाबास बस्ने भिक्षुले पुण्य सञ्चय गर्ने विश्वास छ । वर्षावास सकिएको एक महिना अर्थात् कार्तिक पूणिर्माभित्र कठिन चिवर दान गरिन्छ । त्यसलाई कठिन चिबर उत्सव पनि भनिछ । बुद्ध धर्मका थेरबादी सम्प्रदायमात्रै वर्षाबास बस्छन् ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।