नेपाली क्रिकेट टिमले यूएईको भिसा प्राप्त गर्‍यो, असोज ६ गते प्रस्थान गर्ने

आश्विन ५, २०८२ |खेल ब्युरो
नेपाली क्रिकेट टिमले यूएईको भिसा प्राप्त गर्‍यो, असोज ६ गते प्रस्थान गर्ने

काठमाडौं । नेपाली क्रिकेट टिमले यूएईको भिसा प्राप्त गरेको छ।

आइतबार दिउँसो क्रिकेट संघ-क्यानले सूचना जारी गरेर नेपाली टिमले भिसा प्रप्त गरेको र असोज ६ गते यूएई प्रस्थान गर्ने जानकारी दिएको हो।

अहिले यूएईले नेपालीको भिसा रोकेको कारण नेपाली क्रिकेट टिम यूएई जान पाएको थिएन। यसअघि नेपाली टिम गत शुक्रबार नै त्यसतर्फ प्रस्थान गर्ने तालिका थियो। बिहीबार नै क्यानले नेपाली टिमको विदाई गरिसकेको थियो। भिसा प्राप्त नभएपछि नेपाली टिम नेपालमै रोकिएको हो।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आ-ईसीसी र इमिरेट्स क्रिकेटको समन्वयमा भिसाको प्रक्रिया पुनः सुरू गरेको थियो। त्यसपछि मात्रै क्रिकेट टिमले भिसा पाएको हो। 

यता प्रशिक्षक स्टुवर्ट ल भने अष्ट्रेलियाबाट यूएई पुगिसकेका छन्। नेपालले यही असोज ११ गतेबाट १४ गतेसम्म वेस्ट इन्डिजसँग सिरिज खेल्ने तालिका छ। नेपालले इतिहासमा नै पहिलो पटक यूएईमा वेस्ट इन्डिजसँग आधिकारिक सिरिज खेल्ने भएको हो। 

नेपालले आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि वेस्ट इन्डिज सिरिजसँग खेल्न लागेको हो।