काठमाडौं । नेपालले भियतनामविरूद्ध हुने एएफसी एसियन कप छनोट खेलका लागि प्रारम्भिक टोली घोषणा गरेको छ।
राष्ट्रिय पुरूष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले घोषणा गरेको प्रारम्भिक टोलीमा ३२ खेलाडी रहेका छन्। अखिल नेपाल फुटबल संघ-एन्फाका अनुसार खेलाडीहरू यही असोज ७ गतेदेखि बन्द प्रशिक्षण शिविरमा प्रवेश गर्नेछन्।
टोलीमा अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, अञ्जल श्रेष्ठ, एरिक विष्ट, अयुष घलानजस्ता युवा र अनुभवी खेलाडी रहेका छन् ।बिमल पाण्डे, किरण चेम्जोङ र रोहित चन्दजस्ता लामो अनुभव भएका खेलाडी टिममा लगातार छन्।
त्यसैगरी, बिशाल सुनार, दिप कार्की, दिनेश हेन्जन, दिपेन्द्र बि.क, दिपेश गुरूङ, गिलेस्पीजँग कार्की, कृतिक रत्न छुन्जु, कुशल देउबा, लाकेन लिम्बु, मणि लामा, मनिष डाँगी, निराजन धामी, रोहन कार्की, समिर तामाङ, सुमित श्रेष्ठ, सानिस श्रेष्ठ, सन्तोष खत्री, सुबास बम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा र योगेश गुरूङ समावेश छन्।
बंगलादेशसँग टिममा रहेका सृजन राज गौतम भने यसपटक प्रारम्भिक टिममा छैनन्। नेपालले एएफसी एसियन कप छनोटमा भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले भियतनामसँगका दुई खेल नै भियतनाममा खेल्नेछ।
नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाएका कारण नेपाली टिमले भियतनाममा नै दुवै खेल खेल्न लागेको हो।