काठमाडौं । नेपालमा आयोजनाको लागि तय भएको पब्जी मोबाइल इ-स्पोर्ट्स च्याम्पियनसिपको दक्षिण र सेन्ट्रल एसिया फल तत्कालका लागि स्थगित गरिएको छ।
प्रतियोगिता स्थगित भए पनि आयोजकले नयाँ मिति र आयोजना स्थल भने तोकेको छैन । आयोजक पब्जी मोबाइलले सामाजिक सञ्जालमा सूचना जारी गरेर प्रतियोगिता स्थगनबारे जानकारी दिएको हो ।
नेपालको ईस्पोर्ट्स संघ-इसानले अहिले पनि प्रतियोगिता नेपालमा नै आयोजनाको लागि लबिइङ गरिरहेको छ। यता पब्जी मोबाइलले भने प्रतियोगिता दुबईमा गर्ने बताएको छ। तर यूएईले अहिले नेपालीलाई भिजिट भिसा दिन बन्द गरेकाले पीएमएसएल यूएईमा आयोजना भए नेपालका चार क्लबले सहभागीता जनाउने पाउने छैनन् ।
त्यसैले आयोजकले आयोजना स्थलको खोजी गरिरहेको छ । यता इसानले भने आयोजकलाई इमेल लेख्दै सुरक्षाको जिम्मेवारीमा कम हुन नदिने भन्दै प्रतियोगिता नेपालमा नै गर्न आग्रह गरेको इसानले जानकारी दिएको छ ।
प्रतियोगितामा सेन्ट्रल एसियाका १२, दक्षिण एसियाका चार र पाकिस्तानका चार टोली सहभागी छन् । सेन्ट्रल र दक्षिण एसिया फलमा नेपालका तीन क्लब छनोट भएका छन् ।
स्थानीय टोलीका रूपमा डीआरएस गेमिङसमेत प्रतियोगितामा सहभागी बनेको थियो। प्रतियोगितामा २४ टालीलाई तीन समूहमा विभाजन गरिएको थियो ।