मलेसियामा हुने सुपर महिला सिरिजका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

मलेसियाको राष्ट्रिय महिला क्रिकेट टोलीसँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने
आश्विन ४, २०८२ |खेल ब्युरो
मलेसियामा हुने सुपर महिला सिरिजका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया भ्रमण गर्ने भएको छ । 

नेपाल क्रिकेट संघ-क्यानले शनिबार १४ सदस्यीय टोली घोषणा गर्दै दुई फरक प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनाएको हो । यसअन्तर्गत नेपाली खेलाडीले पहिलो चरणमा मलेसियन सुपर महिला सिरिज खेल्नेछन् । 

प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० सम्म यायासाम सिमे डार्बीको प्रायोजनमा तेस्रो संस्करणका रूपमा हुँदैछ । यसमा पाँच टोली- सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन सहभागि हुनेछन् ।

नेपालकी खेलाडी विभिन्न पाँच टोलीमा विभाजित भई प्रतिस्पर्धा गर्नेछन् । जहाँ सेन्ट्रल सुपर गर्ल्सबाट यशोदा विष्ट, राजमती ऐरी, सिता राना मगर र रिया शर्माले प्रतिस्पर्धा गर्नेछन् । 

यस्तै इस्टर्न लायनेसबाट कविता जोशी र सम्झना खड्का, नर्थन क्वीन्सबाट रूबी पोदार, साउथर्न जागुअर्सबाट पूजा महतो र सोनु विष्ट तथा वेस्टर्न वन्डर वुमनबाट इन्दु वर्मा, सावित्री धामी र रचना चौधरीले प्रतिस्पर्धा गर्ने छन् । सुपर सिरिजपछि नेपाली टोलीले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला क्रिकेट टोलीसँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम छ ।

घोषित १४ सदस्यीय टोलीमा कप्तानी इन्दु वर्माले गर्नेछिन् । चोटका कारण गत मेमा थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायर गुमाएकी सिता राना मगरले टोलीमा पुनरागमन गरेकी छन् । 

यसपटक बिन्दु रावल, सवनम राई, ईश्वरी विष्ट र मनिषा उपाध्यायले भने टोलीमा स्थान बनाउन सकेनन् । सोनु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री घामी राष्ट्रिय टिममा अटाएका छन् ।