काठमाडौं । जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै गएको छ ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुँदा सरकारले जेन-जी आन्दोलनको मर्म र भावनाअनुसार तिव्र गतिमा काम अघि बढाउन सकेको छैन । ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नका लागि सरकारले दिनरात नभनी काम गर्नुपर्ने हुन्छ ।
छिटो र छरितोका लागि ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी प्रधानमन्त्री कार्कीले गरे पनि सरकार बनेको आठ दिनसम्म तीन जना मात्रै मन्त्रीले काम थालेका छन् । अब ७ जना मन्त्री नियुक्त गर्न बाँकी छ ।
भ्रष्टाचार छानबिन, जनचाहनाअनुसार सेवा प्रवाह सुधार र आन्दोलनमा भएको दमन तथा त्यसपछिका आगजनी र तोडफोड लगायतका घटनाक्रमको छानबिनका लागि पनि छिटो सरकारलाई पूर्णता दिन युवाहरूले सुझाव दिएका छन् ।
प्रधानमन्त्रीले राजनीतिक दलमा आबद्ध नभएका र समाजमा प्रतिष्ठा कमाएका व्यक्तिलाई मन्त्री बनाउन चाहनुभएको छ । प्रधानमन्त्री कार्कीका निकटस्थ सहयोगीहरुले जेन–जीका प्रतिनिधिसहितको अनौपचारिक कार्यदल नै बनाएर मन्त्रिपरिषद् विस्तारका लागि परामर्श चलिरहेको बताएका छन् ।
जेन-जीका प्रतिनिधिलाई पनि मन्त्रिपरिषद् सहभागि गराउने तयारी छ । तर फरक-फरक समूह र धेरैको आ-आफ्नै चासो भएकोले जेन-जीका प्रतिनिधिहरूले नै अहिलेसम्म मन्त्री बन्नेको नाम टुंगो लगाउन सकेका छैनन् ।
मन्त्रीका लागि प्रस्ताव गरिएका डाक्टर सन्दुक रूइत र संविधानविद् भिमार्जुन आचार्यसहित कतिपयले अनिच्छा गरेकाले पनि प्रधानमन्त्री कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा थप समय लागेको हो ।
उर्जामन्त्री कुलमान घिसिङले भने छिट्टै सरकारले पूर्णता पाउने बताउनुभएको छ । भदौ २७ गते शुक्रबार राती प्रधानमन्त्री नियुक्त भएकी कार्कीले ३० गते रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री कार्कीले सबै मन्त्रीहरू गैरराजनीतिक हुने र क्षमता अनुसार जिम्मेवारी दिने बताइसक्नुभएको छ ।