काठमाडौं । नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले विधान पारित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको साधारणसभाले विधान अनुमोदन गरेको हो । विधानमा ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्ने र व्यवसायिक रुपमा प्रशिक्षणमा सामेल हुने खेलाडीको संघको सदस्यता खारेज हुने वैधानिक व्यवस्था गरिएको संघका अध्यक्ष विक्रम लामाले जानकारी दिए ।
त्यस्तै संघको केन्द्रीय परिषदमा ए,बी,सी डिभिजनका खेलाडीलाई पनि मनोनयन गर्ने सकिने विधानमा उल्लेख गरिएको छ । यसअघि सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र संघको सदस्यता लिन पाउने वैधानिक व्यवस्था थियो ।
संघले एक महिनाको समय सिमा तोकेर नयाँ सदस्यलाई फारम भर्न आह्वान गरेको छ । संघले कार्यसमितिमा रिक्त पदाधिकारी पनि मनोनयन गरेको छ । अन्जना राना मगर उपाध्यक्ष, अनन्त तामाङ महासचिव, रुपेश केसी, एरिक बिष्ट, अन्जन विष्ट सदस्य मनोनित भएका छन् ।
त्यस्तै संघले आफ्ना दुई पूर्वअध्यक्ष उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई सम्मान गरेको छ । संघका अध्यक्ष लामाले खेलाडीलाई पर्न सक्ने समस्याको समाधानको पहलका लागि संघ सधैं क्रियाशील रहने बताए । यसअघि संघको निर्वाचन २०७९ सालमा भएको थियो ।