३१ करोड सकियो, पानी आएन : रामेछाप पम्पिङ आयोजना अलपत्र

आश्विन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
३१ करोड सकियो, पानी आएन : रामेछाप पम्पिङ आयोजना अलपत्र

रामेछाप । मन्थली नगरपालिका ४ र ५ वडाको तल्लो भेगमा यो वर्ष स्थानीय मुहानले केही राहत दिएको छ । 

तर माथिल्लो भेगका बस्ती भने खानेपानीको समस्या छ । यही समस्या समाधान गर्ने भन्दै २०७८ असारदेखि रामेछाप बृहत पम्पिङ खानेपानी आयोजना सुरू गरिएको थियो । 

यो आयोजना २०८१ असारमा सम्पन्न गर्ने लक्ष्य थियो । तामाकोशी नदीबाट लिफ्टमार्फत पानी तानेर दुई वटा वडाका २ हजार ४ सय घरधुरीमा सुविधा पुर्‍याउने योजना थियो । 

आयोजना बन्ने भयो भनेर रमाएका २५ हजारभन्दा बढी नागरिक निराश बन्नुपर्ने अवस्था आएको छ । निर्माणको जिम्मा पाएको शर्मा-सगुन जेभीले काममा गम्भीर लापरबाही गरेको उनीहरूको आरोप छ ।

संघीय खानेपानी मन्त्रालयको खानेपानी विभागको जलवायु अनुकूलित आयोजनामार्फत सुरू गरिएको बृहत पम्पिङ खानेपानी आयोजनामा कामको ढिलासुस्ती छ । सालु-सुनारपानी खानेपानी आयोजनाका लागि ६१ करोड ४९ लाखको बजेट छुट्याइएको थियो । 

तर, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापमार्फत शर्मा-सगुन जेभीले आधा रकम अर्थात् ३१ करोड ६१ लाखमै काम सम्पन्न गर्ने गरी ठेक्का पाएको हो । दोस्रो पटक थपिएको म्याद असोजमा सकिँदैछ । तर, आयोजनाको भौतिक प्रगति हालसम्म ५५ प्रतिशत मात्रै छ ।

आयोजना अलपत्र परिरहँदा मापदण्डविपरीत सुकाजोर खोलामा राखिएका पाइप खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । करोडौँ बजेट खर्च भइसके पनि आयोजना अधुरो हुँदा सालु–सुनारपानीका नागरिकको पानीको तिर्खा कहिले मेटिने हो, अनुत्तरित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.