भीसा समस्या भएपछि नेपाली क्रिकेट टिमको यूएई प्रस्थान तालिका प्रभावित

आश्विन ३, २०८२ |खेल ब्युरो
भीसा समस्या भएपछि नेपाली क्रिकेट टिमको यूएई प्रस्थान तालिका प्रभावित
Photo Source : CAN

काठमाडौं । नेपाली क्रिकेट टिमले यूएईको भीसा नपाएपछि शुक्रबार बिहान यूएई प्रस्थान गर्ने तालिका प्रभावित भएर पछि सरेको नेपाल क्रिकेट संघ-क्यानले जानकारी दिएको छ ।  

भीसाको लागि पुनः प्रक्रिया सुरू गरिएको र चाँडै भीसा पाउनेमा क्यान विश्वस्त रहेको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन्। नेपालले इतिहासमै पहिलो पटक यूएईमा वेस्ट इन्डिजसँग आधिकारिक सिरिज खेल्ने तालिका रहेको छ। 

त्यसको लागि नेपाली टिम शुक्रबार बिहान यूएई जाने तालिका थियो। तर पछिल्लो समय यूएईले नेपालीलाई भीसा दिन अस्विकार गरिरहेको छ। त्यसैको मारमा नेपाली क्रिकेट टिम पनि परेपछि क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌-आईसीसी र इमिरेट्स क्रिकेटको समन्वयमा भीसाको लागि पुनः प्रक्रिया सुरू गरेको छ। 

नेपाल क्रिकेटले नेपालस्थित यूएईको राजदुतावास र समन्वयकारी संस्थासँग मेलमार्फत सम्पर्क गरिरहेको र भीसा पाउनेमा ढुक्का रहेको लामाले बताएका छन्। शुक्रबार बिहानको लागि गरिएको प्लेन टिकेट पनि रिसेड्युलको तयारी गरिरहेको क्यानले जानकारी दिएको छ। 

नेपालले यही सेप्टेम्बर २७ तारिखदेखि ३० तारिखसम्म वेस्ट इन्डिजसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ। नेपालसँगको खेलका लागि वेस्ट इन्डिजलेसमेत आफ्नो टोली घोषणा गरिसकेको छ। 

नेपालले आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि वेस्ट इन्डिज सिरिजसँग खेल्न लागेको हो।