काठमाडौं । जेन-जी आन्दोलनका कारण प्रभावित मिसन-२०२६ अन्तर्गत नेपाली राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण फेरि सुचारू हुन थालेको छ ।
आगामी २०औं एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म जापानमा हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोही एसियाली खेलकुदको तयारीका लागि २०८० साल माघ १५ गतेदेखि विशेष प्रशिक्षण सुरू भएको थियो ।
१९औं संस्करणको एसियाली खेलकुद सोही वर्षको असोज ६ देखि २१ गतेसम्म चीनको हाङझावमा भएको थियो । त्यसयता नियमिति रूपमा विशेष प्रशिक्षण हुँदै आएको छ ।
यद्यपि जेन-जी आन्दोलनले प्रशिक्षण प्रभावित हुन पुग्यो । उत्पन्न परिस्थितिका कारण खेलाडीले पाँच दिन प्रशिक्षण गर्न पाएनन् । मिसन-२६ मा रहेका ९ खेलमध्ये नेपाली राष्ट्रिय महिला भलिबल टोलीले शुक्रबार प्रशिक्षण गरे ।
मुख्य प्रशिक्षक जगदीश भट्टले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा प्रशिक्षण गराएका थिए । राखेप सदस्यसचिव टंकलाल घिसिङले पनि प्रशिक्षण निरीक्षण गरेका थिए ।
नेपाली खेलकुदको कार्यकारी निकाय राखेपले यो आर्थिक वर्षका लागि मिसन-२६ को प्रशिक्षण भदौ १ गतेदेखि सुरू गरेको थियो । आन्दोलनले स्थिति असहज बन्दै गएपछि खेलाडीले प्रशिक्षण गर्न पाएका थिएनन् ।
विशेष प्रशिक्षणमा कराते, तेक्वान्दो (पारासहित), बक्सिङ, एथलेटिक्स, जुडो, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी ९ खेलका एक सय १० खेलाडी सहभागी छन् । प्रशिक्षण टोलीमा ४४ पुरूष र ६६ महिला छन् ।
आगामी एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित यो प्रशिक्षण सुरू गरिएको हो । गत एसियाली खेलकुदलगत्तै आगामी एसियाली खेलकुदका लागि विशेष प्रशिक्षण सुरू गरिएको पहिलोपटक हो ।
यसपटक राखेपले १० खेलका खेलाडीलाई तयारी गराए पनि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले भने ३२ वटा खेल आगामी एसियन गेम्समा दर्ता गराएको छ । गत बुधबार एनओसीले विज्ञप्ति जारी गर्दै नेपालबाट ३२ खेलका चार सय ३४ खेलाडी दर्ता गरिएको जनाएको थियो । उक्त एसियन गेम्सका लागि खेलाडीहरूको संख्या निर्धारण गर्ने अन्तिम मिति गत मंगलबार नै थियो ।
एनओसीले राखेप र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्य र समन्यवबिना नै रहेको उक्त प्रक्रिया पूरा गरेको हो । विधान संशोधन र निर्वाचनका विषयलाई लिएर विवाद हुँदा अहिले नेपालमा समानान्तर रूपमा दुई वटा एनओसी छन् ।
यसै कारण जीवनराम श्रेष्ठको नेतृत्वको एनओसीलाई सरकारले मान्यता दिएको छैन । जसका कारण एनओसीले संघको सिफारिसकै आधारमा खेल र खेलाडी संख्या दर्ता गराएको हो ।