ऐनसेल जस्ता बहुराष्ट्रिय कम्पनीमा आगजनी गर्नेलाई कारबाहीकाे माग

आश्विन ३, २०८२ |सुमन पन्थ
ऐनसेल जस्ता बहुराष्ट्रिय कम्पनीमा आगजनी गर्नेलाई कारबाहीकाे माग

काठमाडौं । जेन-जीको आन्दोलनपछि भदौ २४ गते नेपालका बहुराष्ट्रिय कम्पनीहरुमा पनि तोडफोड र आगजनी भयो । 

ऐनसेल र हिल्टन होटल जस्ता कम्पनीमाथि सांघातिक आक्रमण हुँदा बाह्य लगानी निरुत्साहित हुने जोखिम बढाएको छ । एनसेलको काठमाडौंसहित पोखरा, महेन्द्रनगर र धनगढीमा रहेका क्षेत्रीय कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ । 

व्यवसायी तथा विज्ञहरुले जेन-जीको नाममा भएको तोडफोड र आगजनीको छानबिन गर्न सुझाएका छन् । दोषीलाई कारबाहीको दायरामा ल्याउन नसके बाह्य लगानीकर्ता आउन नसक्ने उनीहरुले बताएका छन् ।

बहुराष्ट्रिय कम्पनी एनसेलमा जेन-जीको आन्दोलनपछि तोडफोड र आगजनी भयो । जबकी यो बहुराष्ट्रिय कम्पनीले नेपालको विकासमा कति सहयोग पुगेको छ भन्ने तोडफोड र आगजनीमा संलग्नले ख्याल गरेनन् । 

सन् २००४ सेप्टेम्बर १७ मा मेरो मोबाईल नामबाट दर्ता भएर सञ्चालन भएको कम्पनी नै अहिलेको एनसेल हो । त्यस बेला नेपालमा ६ प्रतिशत मानिससाग मात्र मोबाइल थियो । तर, अहिले २० वर्षमा एनसेलका मात्रै १ करोड ४० लाख प्रयोगकर्ता छन् । 

एनसेलले सन् २०१० मा थ्री-जी र २०१७ मा फोर-जी सेवा सुरु गर्दै उच्चगतिको मोबाईल इन्टरनेट उपलब्ध गराएको थियो । एनसेलले आफूभन्दा पुरानो सरकारी स्वामित्वको नेपाल टेलिकमसँग प्रतिस्पर्धा गर्दै नयाँ प्रविधिमा जान चुनौती दिइरहृयो । 

२० वर्षको अवधिमा नेपालको ई-कमर्स, टेलिमेडिसिन, इन्टरनेट, मोबाईल बैकिङ सेवा र सूचना प्रविधि क्षेत्रमा फड्को मार्न एनसेल सहयोगीसिद्ध नै बनेको छ ।टेलिकमको एकाधिकार रहँदा महंगो रहेको मोबाईल सेवालाई सस्तो बनाउन एनसेलको भूमिका छ । 

नेपालीका हात-हातमा सहजै सिमकार्ड उपलब्ध गराउने मात्र होइन, २० वर्षको अवधिमा सरकारलाई साढे तीन खर्बभन्दा बढी कर तथा शुल्क बुझाएको छ । एनसेलमा अनुसार २ अर्बभन्दा बढी रकम त सामाजिक उत्तरदायित्व कार्यक्रममा खर्च भएको छ । 

युवा उद्यमीहरूले एनसेलजस्ता संस्थामा भएको आक्रमणको छानबिन गरेर दोषीलाई कारबाही गरी बाहृय लगानीकर्तालाई आश्वस्त बनाउन सुझाएका छन् । बुधबार मात्रै २०औं वर्षमा प्रवेश गरेको एनसेलका झन्डै डेढ करोड प्रयोगकर्ता छन् । 

यति धेरै नागरिकसाग प्रत्यक्ष जोडिँदै आएको एनसेलको मुख्यालयसँगै पोखरा, महेन्द्रनगर र धनगढीमा रहेका क्षेत्रीय कार्यालयमा पनि तोडफोड र आगजनी गरी क्षति पुगेको छ । 

कर्पाेरेट कार्यालयमा आगजनी भए पनि त्यसको सेवामा भने असर हुन पाएन । अब यस्ता संरचनामा आक्रमण गर्नेहरूलाई तत्काल कारबाही गरी सरकारले बाह्य लगानीकर्तालाई विश्वस्त तुल्याउनुपर्छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।