काठमाडौं । श्रीलंका क्रिकेट टोलीका युवा अलराउन्डर दुनिथ वेल्लालागे यूएईमा जारी एसीसी टी-२० एसिया कप बीचमै छाडेर स्वदेश फर्किएका छन् ।
बिहीबार राति श्रीलंका र अफगानिस्तानबीचको खेलका क्रममा पिता सुरन्गा वेल्लालागेको हृदयाघातका कारण निधन भएपछि उनी स्वदेश फर्किएका हुन् । यो खबर उनलाई तत्काल दिइएको थिएन ।
खेल सकिएलगत्तै श्रीलंकाका कप्तान, प्रशिक्षक र टिम म्यानेजरमार्फत जानकारी पाएका वेल्लालागे तुरुन्तै कोलम्बो फर्किएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुरन्गा वेल्लालागे खेल टेलिभिजनमा हेर्दै थिए ।
खेलको पहिलो इनिङको अन्तिम ओभरमा दुनीथलाई अफगानिस्तानका मोहम्मद नाबीले लगातार पाँच छक्का हानेपछि उनी अत्यधिक भावनात्मक तनावमा परेका थिए । त्यसै क्रममा छातीमा गम्भीर दुखाइ भएपछि अस्पताल लगिएको तर बचाउन नसकिएको श्रीलंकाली सञ्चारमाध्यम लंकासाराले जनाएको छ ।
दुनिथ वेल्लालागेले उक्त खेलमा चार ओभर बलिङ गर्दै इब्राहिम जादरानको विकेट लिए पनि ४९ रन खर्चेका थिए । यो उनको करियरको पाँचौं टी-२० अन्तर्राष्ट्रिय खेल थियो । सो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।
२२ वर्षीय वेल्लालागे एसिया कपमा पुनः फर्किने या नफर्किने अहिलेसम्म टुङ्गो लागेको छैन । श्रीलंकाले सुपर-फोर चरणमा शनिबार बंगलादेशसँग खेल्दैछ भने पाकिस्तानसँग २३ सेप्टेम्बर र भारतसँग २६ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्ने तालिका छ ।
श्रीलंकाका पूर्वकप्तान लसिथ मालिङ्गाले सामाजिक सञ्जाल 'एक्स' मा शोक प्रकट गरेका छन् । त्यसैगरी अफगानिस्तानका सिनियर खेलाडी मोहम्मद नबीले पनि एक्समार्फत् समवेदना व्यक्त गरेका छन् ।