पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने

आश्विन ३, २०८२ |खेल ब्युरो
पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप आगामी डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल संघ-साफले सामाजिक सञ्जालमार्फत् प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । गत जेठमा सम्पन्न साफको कंग्रेसले प्रतियोगिता नोभेम्बरमा गर्ने तयारी गरेको थियो । प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू सहभागि हुनेछन् ।

प्रतियोगितामा सहभागि हुने टोलीमा नेपालको विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब, बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी र पाकिस्तानको कराँची फुटबल क्लब छन् ।

लिग चरणका शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको खेल तालिका सार्वजनिक हुन बाँकी छ भने खेलहरू दशरथ रंगशाला वा अन्य कुनै ठाउँमा हुने भन्ने पनि निश्चित भएको छैन ।