काठमाडौं । एसीसी टी-२० एसिया कप २०२५ अन्तर्गत समूह चरणको अन्तिम खेलमा शुक्रबार भारत र ओमान प्रतिस्पर्धा गर्दै छन् ।
आबुधाबीको शेख जायेद रंगशालामा खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरू हुनेछ । सुपर-फोर चरणअघि भारतले यस खेललाई तयारीको रूपमा लिएको छ ।
यसअघि समूह चरणमा लगातार दुई खेलमा जित हात पारेको भारत तेस्रो जितको खोजीमा मैदानमा उत्रनेछ । सुरूआती २ खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिइसकेको ओमानका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ ।
भारत र ओमानले हालसम्म एक अर्काविरूद्ध कुनै टी-२० अन्तर्राष्ट्रिय खेल नखेले पनि पछिल्लो नतिजा र अंक-तालिकाका आधारमा भारत स्पष्ट रूपमा बलियो देखिन्छ ।
समूह-'ए'को शीर्ष स्थानमा रहेको भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले पराजित गर्दै अभियानको उत्कृष्ट सुरूआत गरेको थियो । त्यसपछि पाकिस्तानलाई समेत ७ विकेटले हराउँदै टोलीले आफ्नो बलियो प्रभाव जमाएको छ ।
पाकिस्तानसँग ९३ रनको फराकिलो हार बेहोरेको ओमान दोस्रो खेलमा पनि संघर्ष गर्न नसकेर यूएईसँग ४२ रनले पराजित भएको थियो ।