काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा गाजामा तत्कालीन र स्थायी युद्धविरामको माग गर्ने प्रस्तावमा अमेरिका छैटौँ पटक भिटो प्रयोग गरेको छ ।
गाजाको मानवीय अवस्थालाई "विनाशकारी" भन्दै इजरायललाई राहत सामग्रीमा लगाइएका सबै प्रतिबन्ध हटाउन आग्रह गरिएको प्रस्तावलाई अमेरिकाले हमासको पर्याप्त निन्दा नगरिएको भन्दै असहमति जनाएको हो ।
सुरक्षा परिषद्का बाँकी १४ सदस्य राष्ट्रहरूले भने प्रस्तावको पक्षमा मतदान गरेका थिए। मध्यपूर्वका लागि अमेरिकी सहायक दूत मोर्गन ओर्टागसले प्रस्तावमा हमासको पर्याप्त निन्दा नगरिएको र इजरायलको आत्मरक्षाको अधिकारलाई मान्यता नदिएको बताउँदै अमेरिकाले सो प्रस्तावमा असहमति जनाएको बताउनुभयो।
मतदानपछि विभिन्न राष्ट्रहरूले अमेरिकाको निर्णयप्रति गहिरो निराशा व्यक्त गरे। यसैबीच संयुक्त राष्ट्रको मानवीय कार्यालयले गाजामा बाँच्नका लागि आवश्यक सबै सहारा समाप्त हुँदै गएको चेतावनी दिएको छ।
गाजाबाट हजारौँ मानिसहरू अझै पनि ज्यान जोगाउन भागिरहेका छन्। इजरायली ट्याङ्क र सैनिकहरू स्थलगत कारबाहीको तेस्रो दिनमा समेत अघि बढिरहेका छन्। संयुक्त राष्ट्र मानवीय कार्यालयकी प्रवक्ता ओल्गा चेरेभ्कोलाई उद्धृत गर्दै बिबिसीले गाजा सहरको अवस्थालाई "पूर्णतया विनाशकारी" भएको उल्लेख गरेको छ ।