काठमाडौं । धेरै नेपालीले श्रमको गन्तव्य बनाउँदै आएको संयुक्त अरब इमिरेट्स-यूएईले श्रमिक भिसा पनि दिन बन्द गरेको छ ।
यसअघि यूएईले भिजिट भिसा दिन बन्द गरेको थियो । योसँगै यूएईका कम्पनीहरूबाट आएका मागपत्रमाथिको कारवाही रोकिएको छ । सम्पूर्ण सरकारी प्रक्रिया पुरा भएर भिषाका लागि आवेदन दिएकाहरूको प्रक्रिया अघि नबढेको व्यवसायीहरूले बताएका छन् ।
हजारौंको भिसा निवेदन रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरूङले जानकारी दिनुभयो । यूएईले जेन-जी आन्दोलनपछि कैदीबन्दी भागेका समाचार आएपछि भिजिट भिसा बन्द गराएको थियो ।
व्यवसायीहरूले श्रमिक भिसा रोकिएको विषयमा कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । यूएई नेपाली युवाको एक प्रमुख श्रम गन्तव्य मुलुक हो । त्यहाँ अहिले पनि झन्डै ५ लाख नेपाली श्रमिक छन् ।