भ्रष्टाचारविरूद्धको लडाइँमा सहिद युवाहरू, परिवार भन्छ- ‘अब राज्यले साथ दिनुपर्छ’

आश्विन ३, २०८२ |कृपाल गौतम
भ्रष्टाचारविरूद्धको लडाइँमा सहिद युवाहरू, परिवार भन्छ- ‘अब राज्यले साथ दिनुपर्छ’

काठमाडौं । भ्रष्टाचारविरूद्ध जेन-जी युवाले गरेको आन्दोलनमा तत्कालीन सरकारले दमन गर्दा शहीद भएकाहरूका परिवार तथा आफन्त शोकमा छन् ।

सुशासनका लागि लडेका युवाहरू शहिद हुँदा देशलाई नै दुखेको छ । शहीदको बलिदानी र योगदानलाई राज्यले सधैंभरी सम्झिरहने छ । अहिले शहिद परिवारहरू कहिल्यै भुल्न नसक्ने पीडामा छटपटाइरहेका छन् । 

कसैको घरको खम्बा ढलेको छ भने कसैको बुढेसकालको सहारा । शहिदका परिवार भन्छन्– योगदान खेर जानु हुँदैन, राज्यले शहीद परिवारका लागि उचित रोजगारीको समेत व्यवस्था गर्नुपर्छ ।

कैलाली धनगढीका २३ वर्षीय गौरव जोशी प्लस टु सकेर विदेश जाने तयारीमा हुनुहुन्थ्यो । वृद्ध आमा-बुवाको सहारा उहाँको काँधमा परिवारको आर्थिक अवस्था उकास्ने जिम्मेवारी थियो । तर जेन-जी युवाले गरेको प्रदर्शनका क्रमका प्रहरीले चलाएको गोली लागेर निधन भयो । 

छोरा शहिद भएपछि आमा–बुवा भावविह्वल हुनुहुन्छ । हुन् त सरकारले शहीद परिवारलाई आर्थिक सहयोग गर्ने भनेको छ । तर आफन्तका भन्छन्– त्यो पैसाले विदेश जान लिएको ऋण पनि तिरिँदैन । परिवारका कुनै सदस्यलाई सरकारले रोजगारी दिएमा राहत हुने उनीहरूको भनाइ छ ।

आन्दोलनमा शहिद भएका काभ्रेका २२ वर्षीय रसिक खतिवडा अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो । तर देशमा गाँजिएको भ्रष्टाचारको जरो उखेल्न भदौ २३ गते प्रदर्शन हुने भएपछि उहाँले सहभागी हुने अठोट गर्नुभयो । 

आमाले न जाउ भने पनि आफ्नो पुस्ताले देशमा परिवर्तनका लागि गरेको आन्दोलनमा सहभागि हुनुभएका उहाँ कहिले नफर्कने गरी अस्ताउनुभयो । भर्खरै कानुनमा स्नातक भर्ना भएका बाजुराका २१ वर्षे ओजन बुढा अरूको घरमा काम गर्दै काठमाडौंमा पढ्दै हुनुहुन्थ्यो । 

बाजुरामै बस्ने दाजुसँग उहाँले दैनिक फोनमा कुरा गर्नुहुन्थ्यो । तर भदौ २३ गते फोन नआएपछि बुझ्दै जाँदा भाइको मृत्युको खबर आयो । अहिले उहाँको परिवार काठमाडौं आएको छ । 

सरकारले आर्थिक सहयोग गर्ने भने पनि परिवारका सदस्यहरूसँग सम्पर्क गरेको छैन । आर्थिक सहयोगसँगै परिवारका सदस्यहरूलाई रोजगारी चाहिएको छ । जेन-जी युवाहरूले देशको अवस्था परिवर्तनका लागि बलीदानी दिएका हुन् । 

भ्रष्टाचार मुक्त र सुशासनयुक्त देशको सपना देखेर उनीहरू लडेका छन् । तर तिनै युवा सहिद हुँदा परिवारको टेक्ने लाठी भाँचिएको छ । अब राज्य नै शहिद परिवारको सहारा बन्न सक्नुपर्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।