वेस्ट इन्डिजसँगको टी-२० आई सिरिज : नेपाली क्रिकेटका लागि ऐतिहासिक अध्याय

आश्विन २, २०८२ |सविना कार्की
वेस्ट इन्डिजसँगको टी-२० आई सिरिज : नेपाली क्रिकेटका लागि ऐतिहासिक अध्याय

काठमाडौं । असोज ११ गते नेपाली क्रिकेटले ऐतिहासिक अध्याय आरम्भ गर्दैछ । 

यसै दिन नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य र दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ३ खेलको टी-२० आई सिरिज खेलेर नयाँ यात्रा सुरु गर्नेछ । 

'युनिटी कप' नाम दिइएको यो सिरिजलाई विश्व क्रिकेटको मुख्यधारमा नेपाललाई प्रवेश गराउने ऐतिहासिक ढोका मानिएको छ । यही सिरिजमार्फत नेपाली खेलाडीले आफ्नो क्षमता र सम्भावनालाई विश्व सामु प्रमाणित गर्ने अवसर पाउनेछन् ।

विश्व क्रिकेटमा वेस्ट इन्डिजको चर्चा गर्दा सन् १९७० देखि ९० को दशकको स्वर्णिम समय स्मरण हुन्छ । त्यो बेला करिब १५ वर्षसम्म अपराजित रहँदै वेस्ट इन्डिजले टेस्ट क्रिकेटमा राज गर्‍यो । 

दुईवटा एकदिवसीय विश्वकप जित्यो । २९ टेस्ट शृंखलामा अपराजित रहृयो । सर भिभियन रिचड्र्स, ब्रायन लारा, क्लाइभ लोयड, माइकल होल्डिङ, म्याकोल्म मार्शल, जोएल गार्नर र कोर्टनी वाल्सजस्ता दिग्गजहरूले वेस्ट इन्डिजलाई विश्व क्रिकेटको बादशाह बनाएका थिए ।

तर समय बदलियो । बोर्ड र खेलाडीबीचको विवाद, योजनाको अभाव, कमजोर घरेलु संरचना र फ्रेन्चाइज लिगतर्फ बढेको आकर्षणले वेस्ट इन्डिज क्रिकेट क्रमशः ओरालो लाग्यो । 

यद्यपि २०१२ र २०१६ मा दुई पटक टी-२० विश्वकप जितेर पुनरागमनको संकेत त देखियो, तर निरन्तरताको कमीका कारण फेरि संघर्षमै फस्यो । आजको दिनमा वेस्ट इन्डिज टेस्ट र एकदिवसीय दुवैमा शीर्ष १० भित्र टिक्न संघर्षरत छ भने टी-२० मा अस्थिर प्रदर्शन देखिन्छ ।

यद्यपी यसको अर्थ वेस्ट इन्डिज कमजोर हो भन्ने होइन । अझै पनि क्यारेबियन खेलाडीहरू विश्वभरका फ्रेन्चाइज लिगमा "म्याच विनर" को हैसियतमा परिचित छन् । कुनै पनि दिन उनीहरूले खेल पल्टाउने क्षमता राख्छन् ।

नेपालविरुद्ध खेल्न वेस्ट इन्डिजले नयाँ पुस्तालाई प्राथमिकता दिँदै १५ सदस्यीय टोली घोषणा गरेको छ । कप्तान साई होप, अल्जारी जोसेफ र जनसन चाल्र्सजस्ता मुख्य खेलाडीलाई आराम दिएको छ ।

स्पिनर अकिल हुसेनलाई कप्तानको जिम्मेवारी दिइएको छ । उनलाई फाबियन एलन, जेसन होल्डर र कायल मेयर्सजस्ता अनुभवी खेलाडीले साथ दिनेछन् । यस सिरिजमा पाँच खेलाडीले सिनियर टिमबाट डेब्यु गर्दैछन् ।

नेपालले पनि यस ऐतिहासिक अवसरका लागि टिम घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक स्टुअर्ट ल को नेतृत्वमा तयार भएको टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । 

यस सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम तयारीका रूपमा लिएको छ । यसअघि नेपालले वेस्ट इन्डिजको 'ए' टीमलाई टीयू क्रिकेट मैदानमा स्वागत गरे पनि सिनियर टिमसँग सिरिज भने खेलेको थिएन ।

एकातर्फ वेस्ट इन्डिज पुनरागमनको बाटो खोज्दैछ भने अर्कोतर्फ नेपाल विश्व क्रिकेटमा नयाँ शक्ति राष्ट्रको हैसियतमा स्थापित हुन चाहन्छ । त्यसकारण नेपालका लागि यो अवसर अन्तर्राष्ट्रिय मञ्चमा आˆनो क्षमता प्रदर्शन गर्ने अवसर बन्न सक्छ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।