एएफसीद्वारा एन्फालाई १० हजार डलर जरिवाना, अर्को फुटसल प्रतियोगिताबाट समेत निलम्बन

आश्विन १, २०८२ |खेल ब्युरो
एएफसीद्वारा एन्फालाई १० हजार डलर जरिवाना, अर्को फुटसल प्रतियोगिताबाट समेत निलम्बन

काठमाडौं । एसियाली फुटबल महासंघ-एएफसीले अखिल नेपाल फुटबल संघ-एन्फालाई कारबाही गर्दै १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । 

एएफसीको अनुशासन र आचारसंहिता कमिटीले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । नेपालले एएफसी फुटसल कप २०२६ को छनोटमा भाग नलिएपछि यो कारबाही गरिएको हो । 

कमिटीका अनुसार एन्फाले छनोटका खेल सुरू हुन १ सय ६ दिन अगाडि नाम फिर्ता लिएको थियो । एन्फालाई प्रतियोगिताको नियमावलीअनुसार कारबाही गरिएको हो । एन्फाले प्रक्रियागत त्रुटिका कारण जरिवाना बेहोर्नुपरेको बताएको छ ।

कारबाही अनुसार नेपालले यो सूचना प्राप्त गरेको ३० दिनभित्र रकम बुझाउनु पर्नेछ । नेपालले प्रतियोगिताको अर्को संस्करणमा पनि भाग लिन पाउने छैन ।