सल्यान । सल्यानमा ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । जिल्लाको सदरमुकाम खलंगास्थित पुरानो बसपार्कमा दीप प्रज्वलन गरिएको महासंघका शाखा सचिव बुद्धि पुनले जानकारी दिनुभयो । सो क्रममा मौनधारण समेत गरिएको थियाे ।
उक्त अवसरमा बोल्दै महासंघका अध्यक्ष डिल्लीराज रावतले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो दुःखद घटनाले समाजलाई गहिरो चोट पुर्याएको बताउनुभयो । उहाँले यस्ता घटना दोहोरिन नदिन राज्य संयमित र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता मौलिक अधिकार भएकोले विरोध र असहमति जनाउने अधिकारप्रति सम्मानजनक व्यवहार गरिनुपर्ने बताउनुभयो ।
सो अवसरमा महासंघका पुर्वकार्यवाहक अध्यक्ष सनत कुमार शर्मा, शाखा उपाध्यक्ष शिव डाँगीसहित अन्य पत्रकार तथा सञ्चारकर्मीको उपस्थित रहेको थियो । यस्तै सरोकारवाला र स्थानीयको समेत सहभागिता रहेको थियो ।
भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७३ जनाको ज्यान गएको छ । सरकारले जेनजी युवाहरूको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो ।