ऐतिहासिक पदक विजेता एरिका दुई लाखसहित सम्मानित

भाद्र २२, २०८२ |खेल ब्युरो
ऐतिहासिक पदक विजेता एरिका दुई लाखसहित सम्मानित

काठमाडौं । नेपाली करातेकी कीर्तिमानी खेलाडी एरिका गुरुङ नगदसहित सम्मानित भएकी छन् । नेपाल कराते महासंघले आइतबार एक कायक्रमका बीच एरिकालाई नगद दुई लाख रुपैयाँ र सम्मानपत्र हस्तान्तरण गरेको हो ।

विश्व कराते वान प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी एरिकाले नेपाली करातेमा नयाँ अध्याय कोर्ने अवसर पाएकी थिइन् । गत जेठ १९ गते मोरक्कोमा सम्पन्न सो प्रतियोगितामा उनले फ्रान्सकी खेलाडी क्लेमेन्स पिएलाई हराउँदै कास्य जितेकी थिइन् । यो पदक नेपाली करातेको इतिहासमै पहिलो हो ।

महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले संयुक्त रूपमा एरिकालाई सम्मान गरेका थिए । कार्यक्रममा राष्ट्रिय टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठ पनि उपस्थित थिए ।

एरिका विश्व कराते महासंघको उत्कृष्ट ३२ सूचीमा नपरेकी भए पनि अन्य खेलाडी नाम फिर्ता लिएपछि उनलाई अन्तिम क्षणमा प्रतिस्पर्धा गर्ने मौका मिलेको थियो । प्रशिक्षकको प्रत्यक्ष मार्गदर्शनबिना नै खेलेकी एरिकाले ऐतिहासिक सफलता दिलाएकी हुन् ।

एरिकाले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपाली खेलकुदलाई गौरवान्वित बनाएकी छन् । उनले चीनमा भएको १९औं एसियाली खेलकुदमा रजत पदक हात पारेकी थिइन् । 

एकेएफ सिनियर कराते च्याम्पियनसिपमा रजत, साथै थाइल्यान्ड ओपन, अमेरिका ओपन र १६औं एशियन सितोरियो प्यासिफिक च्याम्पियनसिपमा स्वर्ण पदक जितिसकेकी छिन् ।