काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ ।
समितिले बुधबार मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको निरीक्षण गरेको हो । समितिलाई मैदान स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले हालसम्म भइरहेको कार्यप्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।
भदौ मसान्तसम्म प्यारापिट निर्माणका सम्पूर्ण काम सम्पन्न हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । फ्लडलाइट जडानको काममा भने अझै एक महिना लाग्ने देखिएको उहाँले बताउनु भयो । लाईट आउन बाँकी रहेकोले फ्लडलाइट जडानको काम ढिलो हुने उहाँले बताउनु भयो ।
समितिका सभापति मायाप्रसाद शर्माले हाल निर्माण कम्पनीले तोकिएको समयमा काम सक्नुपर्ने बताउनु भयो । उहाँले हाल निर्माण कम्पनीले हर्जना तिरिरहेको उल्लेख गर्नुहुँदै अब पनि समयमा काम नसकिए पटकपटक म्याद थप्न नसकिने बताउनु भयो ।
निर्माण कम्पनीले सरकारले तोकेको समयमा काम गर्न नसकेपछि दैनिक हर्जना तिरेर काम गरिरहेको छ ।