बंगलादेश राष्ट्रिय फुटबल टोलीले नेपालमा आयोजना हुने २ मैत्रीपूर्ण खेलको लागि टिम घोषणा

अनुभवी खेलाडीलाई मौका
भाद्र १८, २०८२ |खेल ब्युरो
बंगलादेश राष्ट्रिय फुटबल टोलीले नेपालमा आयोजना हुने २ मैत्रीपूर्ण खेलको लागि टिम घोषणा

काठमाडौं । बंगलादेशले नेपालसँग खेल्ने २ मैत्रीपूर्ण फुटबल खेलका लागि टिम घोषणा गरेको छ। 

बंगलादेशको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हाभियर काब्रेराले घोषणा गरेको टोलीमा अनुभवसहितका खेलाडीलाई मौका दिइएको छ । बंगलादेशका लागि छ गोल गरेका टोपू बरमन, पाँच गोल गरेका राकिब होसेन र चार गोल गरेका मोहम्मद इब्राहिम उत्कृष्ट खेलाडी हुन्। 

यी खेलाडीलाई प्रशिक्षक काब्रेराले विशेष स्थान दिएका छन् । २३ सदस्यीय अन्तिम टोलीमा जमल भुइया, फोयसल फहिम, तारिक काजी र सोहेल रानाजस्ता थप उत्कृष्ट खेलाडी रहेका छन् । 

यी खेलाडी बंगलादेशका लागि महत्वपूर्ण सावित हुँदै आएका छन् । बंगलादेश यस पटक घरेलु तथा युवा खेलाडीको ऊर्जा प्रयोग गर्दै नेपालको चुनौती सामना गर्ने तयारीमा छ । 

गोलकिपरका रूपमा सुजन हुसैन, मेहदी हसन र रहमत मियाँ रहेका छन् भने डिफेन्स लाइनलाई बलियो बनाउन ताज उद्दिन, तारिक रायहानजस्ता खेलाडीलाई समावेश छन् ।

कप्तान जमाल भुइयाँले मिडफिल्डको नेतृत्व गर्ने छन्। यसबाहेक रकिब हुसैन, अब्दुल्ला ओमार, सोहेल रानाले उनलाई साथ दिनेछन् । आक्रमणतर्फ भने फोयसल, शहारीयार इमान र सुमोन रेजाजस्ता स्ट्राइकरलाई समावेश गरिएको छ। 

बंगलादेशका लागि पनि नेपालविरुद्धको भिडन्त महत्वपूर्ण छ। किनभने उसले पनि एएफसी एसियन कपको छनोटका लागि तयारी गरिरहेको छ। नेपालविरुद्ध जित निकाल्दै टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आत्मविश्वास जगाउने लक्ष्य लिएको प्रशिक्षक काब्रेराले बताएका छन् ।