पाल्पा । पाल्पाको तानसेन नगरपालिका-१, बराङ्दीका विष्णुबहादुर नेपाली आयआर्जनका लागि केही वर्ष भारत बस्नुभयो ।
सोचेजस्तो नभएपछि कतार जानुभयो । गरिबीले उहाँलाई वैदेशिक रोजगारीको बाटो राज्न बाध्य पार्यो ।
तर अहिले श्रीमान् विष्णुले विदेशबाट पठाएको रेमिट्यान्समा श्रीमती दुर्गाको मिहिनेत मिसिँदा यो परिवारमा ठूलो आर्थिक परिवर्तन आएको छ ।
तानसेन नगरपालिका १ बराङ्दीकी दुर्गा नेपालीको गाउँकै विष्णुबहादुर नेपालीसँग २१ वर्षअघि प्रेमविवाह भएको हो ।
विहेताका घरको अवस्था निकै दयनीय थियो । विहेलगत्तै श्रीमान विष्णुबहादुर कमाउन भारत पस्नुभयो । राम्रो कमाइ नभएपछि फर्किनुभएका विष्णुबहादुर ऋणधन गरेर १४ वर्षअघि कतारजानुभयो ।
झण्डै ११ वर्षको कतार बसाइँपछि भने स्वदेशमै केही गर्ने अठोटले घर फर्केर तीन वर्षजति कुखुरापालन, तरकारी खेती गर्नुभयो ।
तर घाटा लागेपछि विष्णुबहादुर फेरि अचेल कतारमै हुनुहुन्छ । श्रीमती दुर्गा श्रीमानले पठाएको रेमिट्यान्स बचत गर्दै घरमा तरकारी खेती, भैँसीपालन साथै सरफ-साबुन बनाउने उद्यम गर्नुहुन्छ ।
उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्यसमेत बन्नुभयो ।
विष्णुबहादुर कतारमा चालक हुनुहुन्छ । कोभिडअघिको विदेशको कमाइले गाउँमै घर बनाउने, जग्गाजमिन, घडेरी जोड्ने काम भएको छ । दुई छोरी र एक छोरालाई राम्रो शिक्षादीक्षा दिलाउनुभएको छ ।
आफ्नै घर नभएको, सिठाले बारेको गोठजस्तो घरमा बसेको विगत सम्झादा आासु झर्ने बताउने दुर्गाले श्रीमानको विदेशको कमाइले जीवनमा ठूलो परिवर्तन आएको बताउनुहुन्छ ।
बराङ्दी तानसेनको श्रीनगरडाँडादेखि उत्तरतर्फ फर्केको गाउँ हो ।
सदरमुकाम नजिक भएकाले तरकारी, दूध, फलफूल उत्पादनसँगै अन्य काम गर्दा बजारको समस्या हुँदैन । दुर्गाको परिवारको जीवनस्तर परिवर्तनमा छिमेकीहरूले रेमिट्यान्सको योगदान भएको बताउँछन् ।
विष्णु र दुर्गाकी ठूली छोरी ल्याब टेक्निसियन उत्तीर्ण गरेर विदेश जाने तयारीमा हुनुहुन्छ । छोरा काठमाडौंमा स्नातक पढ्ने तयारीमा हुनुहुन्छ भने सानी छोरीले १० कक्षामा पढ्दै हुनुहुन्छ ।