जोकोविच २५औँ ग्रान्डस्लाम उपाधि नजिक

भाद्र १८, २०८२ |खेल ब्युरो
जोकोविच २५औँ ग्रान्डस्लाम उपाधि नजिक

काठमाडौं । सर्बियाका नोभाक जोकोविच यूएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । 

बुधबार बिहान भएको खेलमा अमेरिकी खेलाडी टेलर फिट्जलाई चार सेटमा हराउँदै जोकोविचले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । उनले अब सेमिफाइनलमा स्पेनका कार्लोस अल्काराजको सामना गर्ने छन् ।

२४ पटकका ग्राण्डस्लाम विजेता जोकोविचले पहिलो सेटमा ६-३ को सहज जित हाासिल गरेका थिए। तर दोस्रो सेटमा भने यो खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । यो सेटमा टेलरले कमब्याकका सबै प्रयास गरेको भए पनि उनी ७-५ ले पराजित भए। 

चौथो सेटमा भने जोकोविचले लय कायम राख्न सकेनन्। उनलाई ६-३ ले हराउँदै टेलरले खेललाई २-१ मा पुर्याएका थिए। चौथो सेटमा ६-४ को जितसहित जोकोविचले सेमिफाइनलमा स्थान बनाएका हुन्। 

एटीपीको खेलमा अहिलेसम्म यी दुई खेलाडीबीच ११ पटक भेट हुँदा सबै खेल जोकोविचले जितेका छन् । यो जितसँगै उनले २५औं ग्राण्डस्लाम उपाधि सम्भावनालाई जिवित बनाएका छन्। 

उनले यसअघि चार पटक यूएस ओपनको उपाधि जितिसकेका छन् । सन् २०११, २०१५, २०१८ र २०२३ मा पनि ट्रफी उचालेका थिए । अब जोकोविचले सेमिफाइनलमा स्पेनिस प्रतिद्वन्द्वी कार्लोस अल्काराजको सामना गर्नेछन् । 

विश्व नम्बर दुई अल्काराजले, चेकियाका यिही लहेच्कामाथि सोझो सेटको जित हात पारेर सेमिफाइनल पुगेका हुन्। फ्लसिङ मिडोसमा भएको क्वार्टरफाइनलमा अल्काराज विरूद्ध लहेच्काले उच्चस्तरिय खेल प्रदर्शनको प्रयास गरेका थिए । 

यो सिजन अल्काराजलाई पराजित गर्ने ६ खेलाडीमध्ये लहेच्कामा पनि एक हुन् । २०औं वरियताका उनले गत फेब्रुअरीमा कतार ओपनमा अल्काराजमाथि जित हात पारेका थिए । 

२२ वर्षीय अल्काराजले पहिलो सेट ६-४ ले जितेका थिए । दोस्रो सेट ६-२ ले आफ्नो पक्षमा पारेपछि उनी सहज स्थितिमा पुगे । तेस्रो सेटमा लहेच्कालाई ६-४ ले पराजित गर्दै अल्काराजले अन्तिम चारमा स्थान बनाएका हुन् ।

२०२२ का यूएस ओपन विजेता अल्काराजले न्यूयोर्कमा तेस्रो पटक सेमिफाइनल पुगेका हुन् ।