काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट-एसिया प्यासिफिक संयुक्त छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा गएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
नेपाली टोली मंगलबार दिउँसो स्वदेश फिर्किएको हो । अस्ट्रेलिया भ्रमणका क्रममा टप-एन्ड टी-२० सिरिजको लिग चरणबाटै बाहिरिएको नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरूद्धका दुवै टी-२० अभ्यास खेल जितेको थियो भने साउथ अस्ट्रेलियासँग पराजित भएको थियो ।
साउथ अस्ट्रेलियाविरुद्धको एक मात्र एकदिवसीय अभ्यास खेलमा भने नेपाल विजयी भएको थियो । अस्ट्रेलिया भ्रमणका दौरान नेपालले औशत प्रदर्शन गरे पनि वेस्ट इन्डिजविरुद्धको टी-२० आई सिरिज र टी-२० आई विश्वकप छनोटका लागि राम्रो तयारी भएको कप्तान रोहित पौडेलले बताए ।
फिल्डिङमा नेपाली टोली बलियो भए पनि क्षमताअनुसार प्रदर्शन गर्न नसकेको टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वीकार गरे । अस्ट्रेलिया टुरका क्रममा टिमको बलियो र कमजोर पक्ष थाहाँ भएको उनको भनाइ थियो ।
भ्रमणका क्रममा नेपालले टिममा सामेल सबै १६ खेलाडीलाई अवसर दिएको थियो । मुख्य प्रशिक्षक स्टुअर्ट ल भने व्यक्तिगत कारण नेपाल फर्किएनन् । यसबाहेक केही खेलाडी पनि केही दिनपछि मात्र नेपाल फर्कने छन् ।
हाल टोली १० दिनका लागि ब्रेकमा जानेछ । त्यसपछि मध्यपूर्व भ्रमण गर्ने स्टुअर्ट लको टोलीले असोज ११, १२ र १४ गते सारजहाँमा २ पटकको टी-२० आई विश्वकप विजेता वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्ने छ ।
यो सिरिज नेपालका लागि टी-२० विश्वकपको एसिया तथा ईस्ट-एसिया प्यासिफिक संयुक्त छनोटको अन्तिम तयारीका लागि महत्त्वपूर्ण हुनेछ । छनोट प्रतियोगिता असोज २२ गते देखि ओमानमा सुरू हुने छ ।