पोखरा निन्जाजद्वारा रोमानियाकी आउटसाइड हिटर एनामारिया बेरडिल्ला अनुबन्धित

भाद्र १७, २०८२ |खेल ब्युरो
पोखरा निन्जाजद्वारा रोमानियाकी आउटसाइड हिटर एनामारिया बेरडिल्ला अनुबन्धित

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग इडब्लु-भीएलको दोस्रो संस्करणका लागि पोखरा निन्जाजले रोमानियाकी ३२ वर्षीय एनामारिया बेरडिल्लालाई भित्र्याएको छ ।

एनामारिया पोजिसन भने आउटसाइड हिटर हो । उनले रोमानियाको टिमबाट अन्डर एटिन, अन्डर ट्वेन्टी र राष्ट्रिय महिला टोलीबाट पनि खेलिसकेकी छन् । राष्ट्रिय टोली, रोमानियन लिग, रोमानियन कप, च्याम्पियन्स लिग, सी-ई-भी कप, अजरबैया सुपर लिग साइप्रस लिग र साइप्रस कप पनि उनले खेलेकी छन् । 

उनलाई पोखरा निन्जाजको टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको र उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा टोली विश्वस्त रहेको छ । 

उनको आगमनसँगै पोखरा निन्जाजको पुरै टिम तयार भएको छ। करिब १० दिन काठमाडौंमा तयारी गरेर टिम पोखरा गईसकेको छ। उनी सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान आकास्मात स्वदेश फर्किएपछि टिममा आवद्व भएकी हुन् । 

लिगको दोस्रो संस्करण यही भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ ।