प्रिमियर लिग इतिहासकै महँगो बन्यो यो सिजनको समर ट्रान्सफर विन्डो

प्रिमियर लिग क्लबले गरे पौने ६ खर्ब रूपैयाँ खर्च
भाद्र १७, २०८२ |खेल ब्युरो
प्रिमियर लिग इतिहासकै महँगो बन्यो यो सिजनको समर ट्रान्सफर विन्डो

काठमाडौं । यो सिजनको समर ट्रान्सफर विन्डो प्रिमियर लिगको लागि इतिहासकै सबैभन्दा महँगो बनेको छ । 

सेप्टेम्बर एक तारिखको राति खेलाडीको स्थानान्तरण सकिँदा प्रिमियर लिग क्लब पौने ६ खर्ब रूपैयाँ अर्थात् तीन अर्ब पाउन्ड खर्च गरेका छन् ।

विन्डोको अन्तिम दिनका ठूला ट्रान्सफर भएका छन् । गएराति सम्पन्न स्थानान्तरणमा सबैभन्दा धेरै चर्चा भने अलेक्जान्डर इसाकको रह्यो । उनी ब्रिटिस रेकर्ड १ सय २५ मिलियन पाउन्डमा न्यूकासलबाट लिभरपुलमा स्थानान्तरण भए । 

गत वर्ष प्रिमियर लिग क्लबले १ दशमवल ९६ अर्ब पाउन्ड मात्रै खर्च गरेका थिए । यस वर्षको तुलनामा सो खर्च आधा मात्रै हो । तर यो सिजनमा भने जर्मनीको बुन्डेसलिगा, स्पेनको ला लिगा, फ्रान्सको लिग वान र इटलीको सेरी ए, क्लबको संयुक्त खर्चभन्दा पनि प्रिमियर लिग एक्लैको खर्च धेरै भएको हो । 

अन्तिम दिन अर्थात् हिजो खलाडी स्थानान्तर बजार शान्त देखिए पनि मुख्य ट्रान्सफर राति मात्रै सार्वजनिक भएका थिए । जबकी विन्डो साँझमा नै बन्द हुने व्यवस्था गरिएको छ। 

इसाकको प्रस्थानपछि न्यूकासलले ब्रेन्टफोर्डबाट युआन विसालाई १० अर्ब रुपैयाँमा अनुबन्ध गरेको छ। अन्य उल्लेखनीय डिलमध्ये फूलह्यामले क्लब-रेकर्ड ३ करोड ४६ लाख पाउन्डमा ब्राजिलियन खेलाडी केभिनलाई अनुबन्ध गरेको छ । 

म्यानचेस्टर युनाइटेडले बेल्जियन गोलकिपर सेन लम्मेन्सलाई पौने २ करोड पाउन्डमा ल्यायो भन भने जाडोन सान्चो एस्टन भिल्लामा एक सिजनका लागि लोनमा गएका छन् ।