काठमाडौं । प्रतिनिधि सभा रूपन्देही क्षेत्र नम्बर ३ आगामी कात्तिक १७ गते हुने उपनिर्वाचन अहिले राजनीतिको चर्चामा छ ।
धेरैजसो दलहरू उम्मेदवार चयन मै अलमल र विवादमा फसेका देखिन्छन् । सत्तारूढ कांग्रेस र एमालेलाई चुनौती दिने भनिरहेका प्रतिपक्षी र साना दलहरूलाई उम्मेदवार छान्न सकस छ ।
रास्वपाले नयाँ प्रयोग गरी उम्मेदवार छनोट गरेको घोषणा गरेको छ । तर उसको छनोटमा परेका उम्मेदवारको पृष्ठभूमि विवादित देखिएकाले आफ्नो निर्णय कायमै राख्छ भन्नेमा संयश देखिएको छ ।
अघिल्लो निर्वाचन जितेको राप्रपाले उम्मेदवार छान्न पारिवारिक प्रतिस्पर्धाको सामना गरिरहेको छ । मधेश केन्द्रीत दलहरू साझा रणनीतिमा असफल भइरहेका छन् भने माओवादी केन्द्र र समाजवादीले ठोस निर्णय गर्न सकेका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ अभ्यास गर्दै प्रारम्भिक चुनाव गराएर डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाको उम्मेदवार चयन प्रक्रियाको चर्चा भए पनि थापाको पारिवारिक विषय विवादित बनेको छ । थापाले बहुविवाह गरेको विषय बाहिरिएपछि विवादमा तानिनुभएको हो । तर रास्वपाले बचाउ गरेको छ ।
अघिल्लो निर्वाचनमा जित हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार टुंग्याउन सकेको छैन । तल्लो तहले सिफारिस गरेकामध्ये दिवंगत नेता दीपक बोहोराका दुई छोरासहित ६ जना आकांक्षी छन् ।
परिवारभित्रै प्रतिस्पर्धा हुँदा राप्रपालाई उम्मेदवार टुंगो लगाउन कठिन भएको छ । आकांक्षी मध्ये जसले टिकट पाए पनि अर्कोले सघाउने लिखित सहमति भने राप्रपाले गराएको छ । उम्मेदवार टुंगो लगाउन कठिन भए प्रारम्भिक चुनाव गराउनेसम्मको तयारी उसको छ ।
कांग्रेस र एमालेको सत्ता गठबन्धनसँग सशंकित बनेर मधेश केन्द्रित दलले गठन गरेको संघीय लोकतान्त्रिक दलभित्र पनि उपनिर्वाचनका विषयमा बेमेल देखिएको छ । यसअघि मोर्चाले नाउपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर त्यो निर्णयलाई चुनौती दिँदै मोर्चामै सहभागी जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवारलाई उठाउने भएको छ ।
कुनै पनि दलसँग गठबन्धन नगरी प्रतिस्पर्धामा जाने घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले त अहिलेसम्म उम्मेदवारबारे छलफलसम्म गरेको छैन ।
यता नेकपा एकीकृत समाजवादीमा तल्लो तहबाट रूपन्देही ३ का लागि महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस गरेको छ । तर आफ्नै उम्मेदवार उठाउने वा अन्यलाई समर्थन गर्ने भन्नेमा केन्द्रले निर्णय गर्न सकेको छैन ।
सत्तारुढ कांग्रेस र एमालेले पनि उम्मेदवारको निर्णय गर्न सकेका छैनन् । तर सत्ता गठबन्धन कांग्रेस र एमालेलाई चुनौती दिने भन्दै आएका प्रतिपक्षीसहितका अधिकांश साना दल उम्मेदवार चयनमा अलमल र विवादमा फस्दा रूपन्देही-३ को उपनिर्वाचनमा प्रतिस्पर्धीहरू स्पष्ट हुन नसकेको हो ।