लियोनल मेसीको इन्टर मायामीले लिग्स कपको उपाधि गुमायो

फाइनलमा सियाटल साउन्डर्ससँग तीन-शून्य गोलले पराजित
भाद्र १६, २०८२ |खेल ब्युरो
लियोनल मेसीको इन्टर मायामीले लिग्स कपको उपाधि गुमायो

काठमाडौं । लियोनल मेसीको इन्टर मायामीले लिग्स कपको उपाधि गुमाएको छ । साेमबार बिहान भएको फाइनलमा सियाटल साउन्डर्सले मायामीलाई ३-० गोलले पराजित गरेको हो ।

अमेरिकाको वासिङ्टनस्थित लुमिन फिल्डमा ७५ हजारभन्दा बढी समर्थकबीच २०औं मिनेटमा मायामीले गोलको मौका बनाएको थियो । मेसीको क्रसमा रोद्रिगो डि पल सफल हुन सकेनन् । 

२६औं मिनेटमा सियाटलले अग्रता लियो । जेसस फिरैराको सहयोगमा ओसाजे डि रोसारियोले हेडर गोल गरेका हुन् । ४०औं मिनेटमा फरैराले टिमका लागि दोस्रो गोल गर्ने मौका गुमाए । 

उनको प्रहार पोस्टमा लागेर फर्किएको हो । दोस्रो हाफमा मायामीले दुई गोल गर्ने सुनौलो अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोर्याे । ५०औं मिनेटमा जोर्डी आल्बा र लुइस स्वारेज हुँदै आफूसम्म आएको बललाई मेसीले पोस्टको दिशा दिन सकेनन् । 

उनको प्रहार आकाशिएको थियो । ६०औं मिनेटमा टाडेयो आलएन्डे पनि वान भर्सेसमा चुकेपछि मायामी निराश बनेको थियो । त्यसको फाइदा साउन्डर्सले उठायो । ८४ औं मिनेटमा आलेक्स रोल्डानले पेनाल्टीमा गोल गर्दै साउन्डर्सको अग्रता दोब्बर बनाए । 

८९औं मिनेटमा पल रथरकले गोल गरेपछि भने साउन्डर्सले सहज जितका साथ उपाधि जित्दा मायामी स्तब्न बन्यो । योसँगै साउन्डर्स, वर्षको सवै पाँच ट्रफी जित्ने पहिलो मेजर लिग टिम बनेको छ । 

यसअघि उसले एमएलएस कप, कोन्काकाफ च्याम्पियन्स कप, यूएस ओपन कप र स्पोटर्स सिल्ड जितेको थियो ।