एन्फा महिला लिग : स्टुडेन्ट फुटबल क्लबकाे विजयी सुरुवात

भाद्र १, २०८२ |खेल ब्युरो
एन्फा महिला लिग : स्टुडेन्ट फुटबल क्लबकाे विजयी सुरुवात

काठमाडौं । एन्फा महिला लिग छनोटमा स्टुडेन्ट फुटबल क्लबले विजयी सुरुवात गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा स्टुडेन्टले सिन्धुपाल्चोक एफसीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

स्टुडेन्टको जितमा सविना तामाङले ह्याट्रिक गरिन् । पहिलो हाफको अतिरिक्त समयमा कप्तान सविना तामाङले गोल गर्दै स्टुडेन्टलाई सुरुआती अग्रता दिलाएकी थिइन् । 

खेलको ६६औं मिनेटमा सिन्धुपाल्चोककी अनु भुषालले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। ७४औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गर्दै स्टुडेन्टलाई पुनः अग्रता दिलाइन्। 

निर्धारित ९० मिनेटको खेल सकिन दुई मिनेट बाँकी रहँदा, सविनाले ह्याट्रिक पूरा गरिन् । जितसँगै स्टुडेन्टले आफ्नो खेलबाट स्पस्ट ३ अंक बटुल्न सफल भयो।

आजै सम्पन्न दिनको दोस्रो खेलमा झापा एफसीले पोखरा गर्ल्सलाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्यो । झापालाई सानदार जित दिलाउन ईमा राईले हृयाट्रिक गरिन् । जितसँगै झापाले ३ अंक जोडेको छ ।