गोल्डस्टार र कान्तिपुर टेलिभिजनबीच ईपीएल प्रसारणसम्बन्धी सम्झौता

भाद्र १, २०८२ |खेल ब्युरो
गोल्डस्टार र कान्तिपुर टेलिभिजनबीच ईपीएल प्रसारणसम्बन्धी सम्झौता

काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएल २०२५/२६ सिजनको प्रसारण अधिकारका लागि गोल्डस्टार स्ट्राइड्स प्रालि र कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिबीच आपसी सम्झौता भएको छ।

सम्झौतापत्रमा गोल्डस्टारको तर्फबाट कार्यकारी निर्देशक विदुषी राणाले र कान्तिपुर मिडिया ग्रुपको तर्फबाट बिजनेस हेड सागर केसीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ईपीएल २०२५/२६ को सम्पूर्ण प्रसारण कान्तिपुर टेलिभिजनमार्फत हुने छ, जहाँ गोल्डस्टार ‘किकअफ पार्टनर’ को रूपमा सहभागी हुनेछ।

यस सहकार्यमार्फत नेपाली दर्शकहरूले विश्वकै सबैभन्दा लोकप्रिय र प्रतिस्पर्धात्मक फुटबल लिग नजिकबाट हेर्ने अवसर पाउने विश्वास व्यक्त गरिएको छ।

गोल्डस्टार, जो नेपाली उत्पादन र रोजगारी सिर्जनामा लामो समयदेखि क्रियाशील रहेको छ, कुल कार्यबलको ७० प्रतिशतभन्दा बढी महिलालाई रोजगार दिँदै आएको छ। 

यसले कम्पनीको समावेशी र सशक्तिकरणमुखी कार्यशैलीलाई प्रतिविम्वित गर्दछ। यस साझेदारीको रणनीतिक पक्षको नेतृत्व गोल्डस्टार स्ट्राइड्स प्रालिका मार्केटिङ प्रमुख राजीव मान जोशीले गर्नुभएकाे छ । उहाँको सक्रिय समन्वयले उक्त सहकार्य सफल भएको हो। 

खेल, मनोरञ्जन र सामाजिक उत्तरदायित्वलाई जोड दिने उद्देश्यसहित गरिएको यस सहकार्यले नेपाली ब्रान्ड र मिडिया क्षेत्रबीचको समन्वयलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।