कर्णाली याक्स २०२५: बलियो बलिङ र अलराउन्डरको धार, टप अर्डरमा विदेशीकाे भर

श्रावण ३१, २०८२ |खेल ब्युरो
कर्णाली याक्स २०२५: बलियो बलिङ र अलराउन्डरको धार, टप अर्डरमा विदेशीकाे भर
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल २०२५ नजिकिँदै गर्दा कर्णाली याक्स नयाँ उमंग र योजनासहित मैदानमा उत्रन तयार देखिन्छ । गत सिजन प्लेअफसम्म पुगेको टोलीले यसपटक मिनी अक्सनपछि अझ सशक्त रूप लिएको छ । 

अनुभवी नेतृत्व, प्रतिभाशाली अलराउन्डर र विविधतापूर्ण आक्रामक बलिङ लाइनअपले कर्णालीलाई बलियो आधार दिएको छ । तर, टप अर्डरमा भरपर्दा खेलाडीको कमी अझै प्रष्ट छ । जसलाई विदेशी खेलाडीमार्फत टिमले समाधान गर्ने रणनीति बनाएको छ । 

कर्णाली याक्सको ११ सदस्यीय स्वदेशी स्क्वाडलाई मार्की खेलाडी सोमपाल कामीले नेतृत्व गरेका छन् । राष्ट्रिय टोलीका स्तम्भ सोमपाल कर्णलीका फास्ट-मिडियम बलर मात्र नभइ आक्रामक फिनिसर पनि हुन् । 

गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन शर्मा र युनिशविक्रम सिंह ठकुरीलाई टिमले यस पटक पनि विश्वास गरेको छ । अक्सनबाट पवन सर्राफ १५ लाख, युवराज खत्री १० लाख, इमरान शेख र दीपक डुम्रे समान २-२ लाखमा टिममा सामेल भएका छन् । ४७ लाखको पर्स लिएर अक्सनमा उत्रिएको कर्णालीले २९ लाख खर्च गर्दा अझै १८ लाख जोगाएको छ । 

कर्णालीको टिम संरचनामा राष्ट्रिय टोलीका अनुभवी नामहरूको प्रभावशाली उपस्थिति छ । सोमपाल कामी, नन्दन यादव र गुल्शन झाले टिमको फास्ट बलिङलाई धारिलो बनाएको छ । गुल्शन झा मिडिल अर्डर तथा नन्दन र सोमपाल तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सकेत सक्षम छन् । 

पवन सर्राफ कर्णालीका लागि 'एक्स-ˆयाक्टर' सावित हुन सक्छन् । चोटका कारण गत संस्करणको एनपीएल गुमाएका पवन ब्याट र बल दुवैबाट टिमलाई ठुलो योगदान दिन सक्ने क्षमता राख्छन् । 

त्यस्तै, बायाँ हाते स्पिनर बिपिन शर्मा, अफस्पिनर दिपेन्द्र रावत र लेगब्रेक बलर युवराज खत्रीले कर्णालीको बलिङ लाइनअफलाई विविधता पूर्ण बनाएको छ । बलिङमा आवस्यक सबै विकल्प कर्णालीसँग हुँदा टिमले पुरै सिजिन यसको भरपुर उपयोग गर्ने छ । अर्जुन घर्ती र दीपक डुम्रेको रूपमा टिममा २ जना विकेट किपर छन् । यद्यपि, टिमको मुख्य चुनौती भनेको टप अर्डर हो । 

गत वर्ष पनि यही कमजोरीले टिमलाई महत्वपूर्ण क्षणमा धोका दिएको थियो । यसपटक इमरान शेख, अर्जुन र दीपकलाई मिडिल अर्डर ब्याटरको रुपमा टिममा सामेल गरिएको छ । तर अनुभवको कमीले उनीहरू सुरुवाती रोजाइमा पर्न कठिन देखिन्छ । 

त्यस्तै, डेथ ओभरमा कमजोर प्रदर्शन गर्ने पुरानो समस्या यसपटक पनि कर्णालीले सुधार्नुपर्नेछ । एनपीएलको नियमअनुसार चार विदेशी खेलदाडी अनुबन्ध गर्ने अधिकारसहित कर्णालीले यसपटक बलरभन्दा बढी ब्याटिङमा ध्यान केन्द्रीत गर्नेछ । 

विशेषगरी, आक्रामक ओपनर, टप अर्डर र मिडिल अर्डरमा विस्फोटक ब्याटर उसको प्रमुख आवस्यकता हो । यी मध्ये एक जना विकेटकिपर-ब्याटर र एक जना स्पिन अलराउन्डर भित्राउन सके कर्णाली उपाधिको प्रवल दावेदार बन्ने छ । 

कर्णाली याक्स २०२५ मा अघिल्लो सिजनभन्दा अझ मजबुत देखिएको छ । बलिङ विकल्पमा कुनै कमी छैन, अलराउन्डरहरूको बहुलताले टिमलाई सन्तुलन दिएको छ । तर टप अर्डरमा स्थिरता ल्याउन विदेशी खेलाडीको छनोट निर्णायक बन्नेछ । 

सोमपाल कामीको नेतृत्व, गुल्शन झाको शक्ति र पवन सर्राफको पुनरागमनसागै यो टोलि उपाधि दावेदारको रूपमा चम्कन सक्ने सामर्थ्य राख्छ ।