नेपाल फुटबल खेलाडी संघले बुझायो एन्फालाई ज्ञापनपत्र, क्लब फुटबल निरन्तरताको माग

श्रावण २७, २०८२ |खेल ब्युरो
नेपाल फुटबल खेलाडी संघले बुझायो एन्फालाई ज्ञापनपत्र, क्लब फुटबल निरन्तरताको माग

काठमाडौं । नेपाल फुटबल खेलाडी संघले नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबलको निरन्तरता दिने मागसहित अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसमक्ष मङ्गलबार ज्ञापनपत्र बुझाएको छ । 

ज्ञापनपत्रमा चाँडो भन्दा चाँडो सबै श्रेणीका सहभागी क्लबहरूसँग समन्वय गरेर फुटबल लिगको क्यालेन्डरअनुसार काम अघि बढाउन एन्फालाई आग्रह गरिएको छ ।

ए डिभिजन लिग सम्पन्न भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि अर्को सिजन सुरुवातबारे अझै पनि अन्योल रहेकोप्रति चिन्ता व्यक्त गर्दै फुटबल खेलाडी संघले खेलाडी र फुटबल समुदाय दुवैमा गम्भीर असर पारेको जनाएको छ ।

लिग फुटबलको अभावले खेलकुदमा आफ्नो जीवन समर्पित गरेका फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीहरूलाई अनिश्चित अवस्थामा पुर्‍याएको प्रतियोगिताको अभावकै कारण धेरै प्रतिभा जीविकोपार्जनकै लागि देश छोड्न बाध्य भएको भन्दै एन्फाको ध्यानाकर्षण गराएको हो ।