एन्फा यू-१६ लिगको आधा सिजन सकियो, पुलिस शीर्ष स्थानमा

श्रावण २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एन्फा यू-१६ लिगको आधा सिजन सकियो, पुलिस शीर्ष स्थानमा

काठमाडौं । एन्फा अन्डर सिक्सटिन लिगको आधा सिजन सकिएको छ । आधा सिजनको समाप्तिमा नेपाल पुलिस क्लब सर्वाधिक ३४ अंकसहित अंक तालिकाको शीर्षस्थानमा छ। एन्फा मुख्यालयमा आज सम्पन्न १३ औं चरणको अन्तिम खेलमा चर्च बोइज युनाइटेडले एनआरटीसँग एक एकको बराबरी खेलेको छ।

एन्फामा भएको आजको पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलले मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको छ। उपाधिकोसमेत दावेदार रहेका यी दुई क्लबले डिफेन्सिभ प्रदर्शन गरेपछि खेल गोलरहीत बनेको हो । यो बराबरीसँगै मच्छिन्द्र २७ अंक तथा फ्रेन्ड्स २६ अंकका साथ दोस्रो स्थानको मनाङलाई पछ्याइरहेका छन् ।

आजै भएको दोस्रो खेलमा चर्च बोइज युनाइटेडले न्यूरोड टिम एनआरटीसँग एक एक गोलको बराबरी खेलेको छ। चर्च बोइजले एक-शून्यको अग्रता जोगाउन नसकेपछि खेलमा एनआरटीले पुनरागमन गरेको हो । 

खेलको १६ मिनेटमा अनमोल सुवेदीले आत्मघाति गोल गरेपछि चर्च बोइजले कोसेली गोल पाएको थियो । तर निराजन दुलालले २७ मिनेटमा बराबरी गोल फर्काएका थिए । यो बराबरीपछि दुवै टिम मिडिल टेबलमा कायम छन् ।

डबल राउन्ड रोबिन शैलीमा सञ्चालन भइरहेको लिगमा पुलिसले ४३ गोल गरेको छ भने ८ गोलको मात्रै सामना गरेको छ। पुलिसका लागि समिर कुमारले सर्वाधिक २० गोल गरेका छन् ।

लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ। लिगमा दोस्रो स्थानका लागि निकै ठूलो प्रतिस्पर्धा छ । त्यसैगरी, संकटा क्लबको पनि २६ अंक नै छ । अब दोस्रो लेगका खेल नौ दिनको विश्रामपछि सुरु हुनेछन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.