सिरहाको सलहेस युवा क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

श्रावण २७, २०८२ |आनन्द गौतम
सिरहाको सलहेस युवा क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङ । सिरहाको सलहेस युवा क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा सलहेसले पाँचथरको फिदिम स्पोर्टिङ क्लबविरुद्ध ६-० गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

सदिया आदमले खेल सुरु भएको पाँचौँ मिनेटमा गोल गर्दै सलहेसलाई सुरुवाती अग्रता दिलाए । ३५औँ मिनेटमा सुजित बुढाथोकीको फ्रि-किक गोलमा परिणत भयो । त्यसको २ मिनेटपछि युसुफ मल्लिकले सलहेसका लागि तेस्रो गोल गरे । ४२औँ मिनेटमा फिदिमका जंगबहादुर खड्काले आत्मघाती गोल गरेपछि उपहार गोल पाएको सलहेसले पहिलो हाफमा ४-० को अग्रता बनाएको थियो । 

६६औँ मिनेटमा युसुफले व्यक्तिगत दोस्रो तथा टिमको पााचौँ गोल गरे । ८०औँ मिनेटमा मोहित गुरुङले छैटौँ गोल गर्दै जारी प्रतियोगिताको सबै भन्दा फराकिलो जित सुनिश्चित गरे ।

म्यान अफ द म्याच घोषित भएका युसुफ मल्लिकले नगद सात हजार रूपैयाँ पाए । अब सलहेसले फाइनल प्रवेशका लागि बिहीबार झापाको रेडस्टार क्लबसँग खेल्नेछ ।

बुधवार हुने पहिलो सेमिफाइनलमा चर्चब्वाइज क्लब ललितपुर र द यङ ब्रदर्स क्लब इटहरी आमनेसामने हुनेछन् । ए डीभिजन लिग च्याम्पियन चर्चब्वाइजले लिजेन्ड फुटबल एकेडेमी सिलिगुडी, भारतलाई १-० तथा द यङ ब्रदर्सले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए । प्रतियोगिताको विजेताले सात लाख रूपैयाँ र उपविजेताले तीन लाख ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।