नेपाल आर्मीका धावक करूण रावललाई लगातार दोस्रो पटक भद्रपुर हाफ म्याराथनको उपाधि

श्रावण २७, २०८२ |खेल ब्युरो
नेपाल आर्मीका धावक करूण रावललाई लगातार दोस्रो पटक भद्रपुर हाफ म्याराथनको उपाधि

झापा । नेपाल आर्मीका धावक करूण रावलले लगातार दोस्रो पटक भद्रपुर हाफ म्याराथनको उपाधि जितेका छन् । 

गत वर्ष पनि रावल नै च्याम्पियन बनेका थिए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भद्रपुर नगरपालिकाको युवा परिषद्ले आयोजना गरेको हाफ म्याराथनमा रावलले निर्धारित १९ किलोमिटरको दूरी १ घण्टा ८ मिनेटमा पुरा गरे । 

नेपाल आर्मीकै धनु मानन्धरले दोस्रो स्थान प्राप्त गरे । महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा लिम्बूले ५४ मिनेट ४७ सेकेन्डमा १३ किलोमिटर निर्धारित दूरी पूरा गर्दै उपाधि हात पारिन् । दमककी याविका देवान दोस्रो भइन् ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फका प्रथम स्थान हासिल गर्ने विजेताले २५ हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

भद्रपुरका पर्यटकीय स्थलहरुको प्रचार-प्रसार गर्ने उद्देश्यले हाफ म्याराथनको आयोजना हुँदै आएको छ ।