एनपीएलमा सुदूरपश्चिमको तयारी

श्रावण २७, २०८२ |खेल ब्युरो
एनपीएलमा सुदूरपश्चिमको तयारी

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल २०२५ को मिनी अक्सनमा सहभागी ८ वटै फ्रेन्चाइज टोलीले स्वदेशी खेलाडीहरूको कोटालाई लगभग पूर्णता दिएका छन् । अब विदेशी खेलाडी अनुबन्ध गर्न र ट्यालेन्ट हन्टमार्फत् एक स्थानीय खेलाडीलाई सामेल गर्न बाँकी छ । 

मिनी अक्सनमार्फत् फ्रेन्चाइज टोली कस्तो बने र कस्ता विदेशी खेलाडी टिममा सामेल गर्नु आवश्यक छ ? आज सविक उपविजेता सुदूरपश्चिम रोयल्सका बारेमा चर्चा गर्नेछौं ।

मार्की खेलाडी दीपेन्द्रसींह ऐरीसहित 'ए' श्रेणीबाट आरिफ शेख, विनोद भण्डारी र अभिनाश बोहोरा, बीबाट इशान पाण्डे र सी श्रेणीबाट नरेन साउदलाई रिटेन गरेको सुदूरपश्चिम रोयल्सले मिनी अक्सनमा पाँच खेलाडी अनुबन्ध गर्‍यो । ए श्रेणीबाट कुनै खेलाडी खरिद नगरेको साविक उपविजेताले 'बीबाट हेमन्त धामीलाई १० लाख रुपैयाँमा भित्र्यायो । त्यस्तै, बी श्रेणीबाटै दीपक बोहरा र मिलन बोहरालाई पनि समान ५-५ लाख रुपैयाँमा अनुबन्ध गर्‍यो । श्रेणी 'सी' का टेकबहादुर रावत र दिपेन्द्र थापालाई समान २-२ लाख रुपैयाँमा किनेको सुदूरपश्चिमले कुल २४ लाख रुपैयाँ खर्च गर्दा उसको पर्समा १७ लाख ५० हजार रुपैयाँ बाँकी रहेको छ । रोचक कुरा त के भने सुदूरपश्चिमले अक्सनमार्फत् खरिद गरेका सबै खेलाडी सुदूरपश्चिमकै हुन् ।

प्रत्येक टिमले अधिकतम ४ विदेशीसहित १६ खेलाडी राख्न पाउने नियमअनुसार सुदूरले ११ स्वदेशी खेलाडी टिममा सामेल गरिसकेको छ । अब सुदूरपश्चिमले ४ विदेशी र १ खेलाडी ट्यालेन्ट हन्टमार्फत् टिममा सामेल गर्न बाँकी छ ।

हालसम्म टिमका ब्याटरहरूमा बायाँ हाते टप अर्डर ब्याटर इशान पाण्डे, मिडिल अर्डरमा आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र विकेट किपर ब्याटर विनोद भण्डारी छन् ।

मिलन बोहोरा र दीपक बोहोरालाई स्पिनिङ अलराउण्डरको रुपमा टिममा सामेल गरिएको छ । सुदूरपश्चिमलाई ओपनर सहित शीर्ष क्रममा ब्याटिङ गर्नसक्ने बायाँ हाते ब्याटरको आवश्यकता छ ।

बलरहरूमा दायाँ हाते मिडियम फास्टहरूको रूपमा हेमन्त धामी र अविनाश बोहोरा सामेल छन् । नरेन साउदले स्लो लेफ्ट आर्म अर्थोडक्स बलिङ गर्ने गर्छन् ।

अलराउन्डरहरुमा दिपेन्द्रसिंह ऐरी, दीपक बोहोरा र मिलन बोहोरा रहेका छन् ।

टिममा ३ जना विकेट किपर सामेल हुँदा सुदूरपश्चिमले विदेशी विकेटकिपरमा खास चासो नदिन सक्छ । यो टिमले मुख्य रूपमा ओपनर ब्याटर र दायाँ हाते टप अर्डर ब्याटरको खोजी गर्नुपर्नेछ । पावरप्लेमा छिटो रन बनाउन सक्ने ब्याटर सुदूरपश्चिमको आवश्यकता हो । हेमन्त र अभिनाशले टिमको फास्ट बलिङ आक्रमणको जिम्मेवारी लिने छन् । तर पनि टिममा एक्सप्रेस फास्ट बलरको आवस्यकता छ । उसो त यो जोडीले प्रतियोगिताभर आफ्नो कोटाको बलिङ गर्न सक्छ । तर पावरप्लेमा हेमन्त र डेथ ओभरमा अभिनाशलाई साथ दिन सक्ने बलरको विकल्प टिमसँग छैन । सुदूरपश्चिमले विदेशी खेलाडीको रूपमा पावरप्ले र डेथ ओभरमा बलिङ गर्न सक्ने फास्ट बलर टिममा सामेल गर्नुपर्ने छ । साथै टिममा पेशर अलराउण्डर समेत नहुँदा उसले यसै खेलाडीबाट सिमर अलराउन्डरको अपरिहार्यतालाई पूरा गर्ने योजना बनाएको हुनसक्छ ।

दीपेन्द्र र नरेनले स्पिन बलिङ आक्रमण सम्हाल्दा टिममा लेग स्पिनर वा मिस्ट्री स्पिनरको कमी छ । दीपक बोहोरा र मिलन बोहोराले पनि स्पिन बलिङसहित अलराउण्ड प्रदर्शन गर्न सक्छन् । तर यी खेलाडीको वास्तविक परीक्षण हुँन बाँकी रहँदा सम्भवतः दीपक र मिलन वैकल्पिक खेलाडी हुनेछन् । साथै विनोद भण्डारीले विकेट किपर ब्याटरको भूमिका निर्वाह गर्दा टेक रावत र दीपेन्द्र थापा पनि बेञ्चमै सीमित हुने सम्भावना देखिन्छ । पहिलो संस्करणको उपविजेता भएकाले सुदूरपश्चिमले टिमलाई थप बलियो बनाउन ध्यान दिनु आवश्यक छ ।