काठमाडौं । महालेखा परीक्षक तोयम रायाले संवैधानिक निकायहरूमा पनि धेरै समस्याहरू रहेको बताउनुभएको छ ।
बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले समस्याहरूको चाङ भएपनि आफूहरूका गुनासाहरू सम्बोधन गर्ने अहिलेसम्म कोही नभएको बताउनुभएको हो ।
अहिले संवैधानिक निकायको प्रशासनिक स्वायततामै धेरै समस्या रहेको रायाले बताउनु भयो । महालेखा परीक्षक कार्यालय संवैधानिक निकाय भएपनि लेखापरीक्षकको मूल्यांकन मुख्यसचिवले गर्ने गरेकोमा रायाले प्रश्न उठाउनु भयो ।
उहाँकाअनुसार संवैधानिक निकायका प्रमुखले आफ्ना कर्मचारीको मूल्यांकन गर्न नपाउनु ठिक होइन । यसरी स्वायतत्ता मिच्दा लेखापरीक्षकले राम्रो नगर्दा उसलाई सजग बनाउन समेत आफूले नपाएको उहाँले गुनासो गर्नुभयो ।
रायाले त्यस्तो ऐनहरू संसद्ले बनाइदिएको भन्दै सांसद्हरूप्रति आक्रोश पोख्नुभयो । पार्टीको ह्विपमा सांसद्हरूले कानून नपढी पास गर्दा संवैधानिक निकायको स्वायत्ततामाथि नै प्रश्न उठ्ने स्थीति आएको उहाँको भनाइ छ ।
रायाले संवैधानिक निकायभित्रका समस्याका बारेमा संसदीय समितिहरूले छलफल चलाउन पर्ने बताउनुभयो । उहाँले एकएक समस्याहरू आफूले बताइदिने बताउनु भयो ।
अहिलेसम्म संवैधानिक निकायभित्र रहेका समस्याहरू सुल्झाउने कोही नभएको बताउँदै महालेखा परीक्षक रायाले कानून बनाउने निर्माताहरूले गम्भीर रूपमा सोच्ने बेला आएको बताउनु भयो ।
उहाँले सार्वजनिक लेखा समितिमा समेत समस्याबारे जानकारी गराउँदा समेत अहिलेसम्म केही नभएको बताउनु भयो । रायाकाअनुसार संवैधानिक निकायका प्रमुखहरुले नै यसरी गुनासो गर्दै हिड्नुपर्ने अवस्था आउनु बिडम्बनापूर्ण रहेको बताउँदै आम नागरिकले गुनासो गर्नुलाई समेत अस्वभाविक रुपमा लिन नहुने बताउनु भयो ।
आम नागरिकले सोसल मिडियामार्फत गाली गरेर भनेर के भन्ने भन्दै रायाले हरेक विषयमा गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।