काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल सिजन टुको शनिबार राति सम्पन्न मिनि अक्सनमा ८ क्लबले २ करोड ७८ लाख ७५ हजार रकम खर्च गरे । सबैभन्दा धेरै चितवनले ३९ लाख खर्च गर्दा पोखराले ११ लाख मात्रै पर्स मनि दाउमा लगायो । ललितपुरमा हिजो सम्पन्न अक्सनका के-के थिए त हाइलाइट्स ?
पवन सर्राफ चोटका कारण पछिल्लो वर्ष एनपीएलका लागि उपलब्ध थिएनन्। युवा सेन्सेसनल आदिल आलमको भर्खरै मात्र प्रतिबन्ध फुकुवा भएपछि नेपाली क्रिकेटमा यी दुई खेलाडीको कमब्याक कसरी हुन्छ भन्ने आम क्रिकेट समर्थकको चासो थियो।
शनिबार ललितपुरमा सम्पन्न मिनी अक्सनमा थोरै बजेटमा उत्कृष्ट खेलाडी आफूतर्फ तान्न अग्रसर थिए, आठै फ्रेन्चाइज क्लबहरू । ए श्रेणीका अर्जुन साउद र देव खनाललाई लक्की ड्रबाट सुरूमै अधिकतम मूल्य १५ लाखमा पाएपछि चितवनलाई पहिलो संस्करणमा देखिएको शीर्ष क्रम ब्याटिङको समस्यामा राहत मिलेको महसुस भयो। तर अक्सन सकिनै लाग्दा जसरी आदिलको नाम आयो, ए श्रेणीका दुई खेलाडी किनिसकेको चितवनमात्रै होइन आठ वटै टिमले उनीमाथि बोली लगाए।
अन्ततः उनलाई काठमाडौं गोर्खाजले गोला प्रथाबाट आफ्नो बनाएको छ। यता पवन सर्राफ कर्णालीमा गोलाप्रथाबाटै गएपछि यी दुई टिमलाई अक्सनको भाग्यमानी ठानियो।
अक्सनमा एक सय ६४ मध्ये २६ खेलाडीमा बोली लाग्दा ११ खेलाडीलाई भने अक्सनपछि क्लबले छानेर आफ्नो बनाएका थिए । त्यसमा सुदूरपश्चिमले पााच खेलाडी अनुबन्ध गर्नुपर्नेमा उसले सबै खेलाडी आफ्नै प्रदेशको पाएको छ।
एनपीएलको दोस्रो संस्करणका लागि क्यानले मिनी अक्सनको आयोजना गरेकोमा, ३७ खेलाडी बिक्री भए । तीमध्ये लेगस्पिनर युवराज खत्री र शेर मल्लका लागि पनि धेरै क्लब उत्साही थिए।
आदिलपछि धेरै क्लबले रोजेका खेलाडी युवराज र शेर मल्ल रहे। अन्ततः गोला प्रथाबाट युवराज कर्णालीको क्वाडमा मिसिए भने मल्ललाई लुम्बिनीले पायो । लेगस्पिनर सन्दिप लामिछाने मार्की रहेको विराटनगरले पनि अर्का लेगस्पिनर सूर्य तामाङलाई किन्यो।
यो वर्षको एनपीएल फ्लडलाइटमा हुने भएका कारण टिमहरुले साँझको कन्डिसनमा खेल्न सक्ने खेलाडीलाई बोली लगाउनु पर्ने थियो। पहिलो संस्करणको विजेता जनकपुरसाग अक्सनअघि नै आसिफ, अनिल, ललितजस्ता उत्कृष्ट खेलाडी कायमै थिए।
यसैकारण जनकपुरसागै पोखराले पनि दोस्रो र तेस्रो श्रेणीका खेलाडी मात्रै किनेका छन्। यता चितवनले भने शीर्ष क्रमका ब्याटरसँगै युवा बलरमा खर्च गरेको छ।
एनपिएललाई सरकारले पनि नेपालको गौरवको योजना भनेको छ। एनपीएलको समर्थनमा राष्ट्रिय खेलकुद परिषद्का दर्जनभन्दा धेरै पदाधिकारी अक्सनमा उपस्थित थिए।
एनपीएलका लागि नेपाली खेलाडी टुंगो लागेको भए पनि विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ। दोस्रो संस्करणमा टेस्ट राष्ट्रका नयाँ र ठूला नाम सुन्न सकिने क्लबका मालिकहरुले बताउँदै आएका छन्। दोस्रो संस्करणमा के-के नयाँ कुरा होलान् त? त्यो भने हेर्न बाँकी नै छ।