एनपीएलको दोस्रो संस्करणको आज मिनी अक्सन हुँदै

श्रावण २४, २०८२ |खेल ब्युरो
एनपीएलको दोस्रो संस्करणको आज मिनी अक्सन हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणको शनिबार मिनी अक्सन हुँदैछ । दिउँसो ३ बजेबाट सुरू हुने अक्सनमा १ सय ५० खेलाडी सहभागी छन् ।

८ वटै फ्रेन्चाइजी टिमले मार्कीसहित ५१ खेलाडीलाई रिटेन गरिसकेका कारण १ सय ५० मध्ये अक्सनमा ३७ खेलाडीमाथि बोली लाग्नेछ । 'ए' ग्रेडमा कुल आठ खेलाडी छन् । फ्रेन्चाइजीले न्यूनतम् १० लाख र अधिकतम् १५ लाखसम्मको बोली लगाउन पाउनेछन् । 

यो ग्रेडमा सबैको नजर आदिल आलममा छ । टी-ट्वेन्टी क्रिकेटमा बिस्फोटक ब्याटरको परिचय बनाएका आदिल म्याच फिक्सिङको मुद्दामा अदालतबाट सफाइ पाएपछि अक्सनमा समावेश भएका हुन् । 

नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकर, देव खनाल, विकेटकिपर दिलिप नाथ, पवन सर्राफ, अर्जुन साउद, सुनाम गौतम र स्पिनर सूर्य तामाङ 'ए' ग्रेडमा छन् । बी ग्रेडमा ३५ खेलाडी सामेल छन् । 

उनीहरूको मूल्य सीमा न्यूनतम ५ लाख रूपैयाँ र अधिकतम १० लाख रूपैयाँ छ । अन्डर नाइन्टिन टिमका लेग स्पिनर युवराज खत्री प्राय सबै टिमको रोजाइमा पर्नेछन् । 'सी' ग्रेडमा कुल १ सय ७ खेलाडी छन् । यो ग्रेडका खेलाडीको मूल्य सीमा २ लाखदेखि ५ लाख रूपैयाँसम्म रहेको छ । 

प्रत्येक टोलीले अघिल्लो वर्ष ९० लाख रूपैयाँको पर्सबाट खेलाडी खरिद गरेका थिए । यस पटक खेलाडी रिटेन गरेपछि बाँकी रहेको बजेट र गत सिजनको बाँकी रकम मात्र अक्सनमा खर्च गर्न पाउनेछन् । 

जसअनुसार चितवन राइनोजको कोषमा सबैभन्दा बढी ५८ लाख रूपैयाँ बाँकी छ । साविक विजेता जनकपुर बोल्टससँग सबैभन्दा कम ३३ लाख रकम छ । काठमान्डु गोखार्जले ब्याटिङमा विषेश ध्यान दिँदा , लुम्बिनी लायन्स बलिङ लाइनअपर सुधारमा रहनेछ । अक्सनमा सहभागी हुन गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई काठमान्डौ आइसकेका छन् ।