एएफसी अन्डर-१७ एसियन कपको छनोटअन्तर्गत नेपाल समूह 'जी' मा

श्रावण २२, २०८२ |खेल ब्युरो
एएफसी अन्डर-१७ एसियन कपको छनोटअन्तर्गत नेपाल समूह 'जी' मा

काठमाडौं । साउदी अरेबियामा सन् २०२६ मा आयोजना हुने एएफसी अन्डर-१७ एसियन कपको छनोटअन्तर्गत नेपाल समूह 'जी' मा परेको छ । 

मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार सम्पन्न ड्रमा यस समूहमा नेपालसहित ओमान, अफगानिस्तान, सिरिया र आयोजक म्यानमार परेका हुन् ।

समूह 'जी' का खेलहरू म्यानमारमा नोभेम्बर २२ देखि ३० सम्म सिंगल राउन्ड रोबिन फर्म्याटमा आयोजना हुनेछ ।

यस पटकको छनोट चरणमा कुल ३८ टोली सहभागी छन् । जसलाई सात समूहमा विभाजन गरिएको छ । तीमध्ये तीन समूहमा ६ टोली र बाँकी चार समूहमा ५ टोली छन् ।

छनोट चरणबाट प्रत्येक समूहका विजेता टोलीले अन्तिम चरणमा स्थान बनाउने छन् । मुख्य प्रतियोगिता २०२६ को मे ७ देखि २४ सम्म साउदी अरेबियामा आयोजना हुने छ ।

फाइनल चरणमा कतरमा हुने फिफा यू-१७ विश्वकप २०२५ मा भाग लिने नौ एएफसी राष्ट्रहरू कतर, उज्बेकिस्तान, साउदी अरेबिया, दक्षिण कोरिया, उत्तर कोरिया, जापान, ताजिकिस्तान, यूएई र इन्डोनेसिया सिधै छनोट भइसकेका छन् ।