काठमाडौं । मलेसियाको कुचिङमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी-४) मा नेपालकी पलेशा गोवर्धनले कास्य पदक जित्दै अन्तर्राष्ट्रिय पदक संख्या ६ पुर्याएकी छिन्।
के-४४ क्याटगरीअन्तर्गत ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशाले क्वार्टरफाइनलमा उज्बेकिस्तानकी कमोला जुरायेवामाथि पहिलो राउन्डमा १०-६ र दोस्रो राउन्डमा १३-० को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेकी थिइन् । तर, सेमिफाइनलमा चीनकी ली युजिएसाग ४-० र १०-० ले पराजित भएपछि कास्य पदकमा चित्त बुझाउनुपर्यो ।
उनको यो करियरको छैटौं अन्तराष्ट्रिय पदक हो । यस अघि उनले युथ एशियन गेम र एसियली पारा ओलम्पिक्समा स्वर्ण जितेकी थिइन् । पेरिस पारा ओलम्पिक्स, एसियन गेम र एसियन च्याम्पियनसिपमा कास्य हात पारेकी थिइन् । पलेशा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। हाल चीनको सांघाईमा अध्ययनरत पलेशा प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन् ।
प्रतियोगितामा महिला तर्फ पलेशासहित ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङ तथा पुरूषतर्फ ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता र ६३ केजीमुनि अमिर भ्लोन सहभागी थिए । यद्यपि, पलेशाबाहेक अन्य नेपाली खेलाडी पदक जित्न सकेनन् ।
नेपाल टोलीका प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा हालसम्म नेपाली पारा तेक्वान्दो टोलीले १२ अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र सात कास्य पदक सामेल छन् ।