विश्व टिम टेबल टेनिस छनोट: भारत विजयी, नेपालकाे दुबै टिम असफल

श्रावण १५, २०८२ |खेल ब्युरो
विश्व टिम टेबल टेनिस छनोट: भारत विजयी, नेपालकाे दुबै टिम असफल

काठमाडौं । विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालको पुरूष टिमले दोस्रो र महिला टिमले तेस्रो स्थानमा चित्त बुझाएपछि दुबै टोली मुख्य प्रतियोगिताका लागि छनोट हुन असफल भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न छनोट प्रतियोगितामा भारतले महिला तथा पुरूष दुबै तर्फ अपराजित रहँदै शीर्ष स्थानमा कब्जा गर्यो। डबल राउण्ड रोकिनका कुनै खेल नगुमाएको भारत शीर्ष स्थानमा रहँदै विश्व च्याम्पियनसिपका लागि छनोट भएको छ ।

पुरूषतर्फ सानदार सुरूआत गरेको नेपालले अन्तिम दिन भारतविरूद्ध निराशाजनक प्रदर्शन गर्यो । नेपालले श्रीलंकालाई ३-०, माल्दिभ्सलाई ३-१ र बंगलादेशलाई ३-२ को सेटमा पराजित गर्दै पहिलो दिन शीर्ष स्थानमा रहेर समाप्त गरेको थियो । तर दोस्रो दिन निर्णायक खेलमा भारतसाग ३-० ले पराजित भएपछि नेपालको यात्रा छनोटमै टुंगिएको हो । 

पुरूष टिममा संयोग कपाली, रूविन महर्जन, राजीव चिकन्बञ्जार र गनञ्जय दाहालले नेपालको प्रतिनिधित्व गरेका थिए । महिलातर्फ नेपालले पहिलो दिन माल्दिभ्स र बंगलादेशलाई ३-० को समान अन्तरले हराए पनि श्रीलंकासँग २-३ ले पराजित भएको थियो । 

अन्तिम दिन भारतसँग ३-० को हारपछि नेपाल तेस्रो स्थानमा सीमित भयो । महिला टिममा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेलले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा भारत, नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्स गरी ५ राष्ट्रका कुल ३४ खेलाडी सहभागी थिए । भारतबाट १० खेलाडी सहभागी थिए भने बाँकी देशबाट समान ८-८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।