विश्व टिम टेबलटेनिस च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा नेपालको राम्रो प्रदर्शन

श्रावण १४, २०८२ |खेल ब्युरो
विश्व टिम टेबलटेनिस च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा नेपालको राम्रो प्रदर्शन

काठमाडौं । विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिन नेपालको महिला र परुष टिमले राम्रो नतिजा हात पारेको छन् । लैनचोरस्थित टेबलटेनिस केन्द्रमा पुरुषतर्फ नेपालले श्रीलंकालाई ३-० ले पराजित गर्दा माल्दिभ्सलाई ३-१ ले पछि पार्यो ।

नेपालका लागि रुविन महर्जनले श्रीलंकाका मोहम्मदलाई ४ सेटमा पराजित गरे । पहिलो सेटमा ७-११ ले पछि परेका रुविनले त्यसपछि लगातार ३ सेट आफ्नो पक्षमा पारेका हुन् । यस्तै संयोग कपालीले चानुल कुलाप्पुवाडुलाई ५ सेटमा पछि पारे । 

यस्तै , राजीव चिकन्बञ्जारले नेथन हामरलाई ४ सेटमा पछि पारे । यस्तै माल्दिभ्सका मोसा अहमदविरुद्ध संयोग कपालीले सोझो सेटको जित हात पारे । संयोगले तीन वटै सेट क्रमस: ११-६, ११-७ र ११-८ ले आफ्नो पारे । रुविन महर्जन भने मोहम्मद सेफानसँग ५ सेटमा पराजित भए । 

सुरुवाती २ सेट गुमाएको अवस्थाबाट पुनरागमन गर्दै तेस्रो र चौथो सेट जितेका संयोगले निर्णायक सेटमा भने कमजोर प्रदर्शन गरे । राजीवले अहमद अख्यरलाई सोझो सेटमा पराजित गर्दा संयोगले मोहम्मद सेफानलाई ४ सेटमा पछि पारे । पुरुषतर्फ नेपालले भोलि भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

महिलातर्फ नेपाल श्रीलंकाविरुद्ध ३-१ ले पराजित हुँदा माल्दिभ्स र बंगलादेशलाई ३-० ले पराजित गर्यो । श्रीलंकासँग नविता श्रेष्ठले १ जित र १ हार हात पार्दा इभाना थापाले २ खेल गुमाइन् । वियंका राइले १ जित हात पारिन् । माल्दिभ्सविरुद्ध नविता, वियंका र इभाले समान १-१ जित हात पारे । पछी नेपालले सहज जित सुरक्षित गर्यो ।

बंगलादेशविरुद्ध पनि नविता, वियंका र इभाले सानदार प्रदर्शन गर्दै नेपाललाई सानदार जित दिलाए । नेपालका दुबै टोलीले भोलि भारतसँग प्रतिस्पर्धा गर्ने छ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष तथा महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछन् । विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ ।

यदि छनोटमा पहिलो हुने राष्ट्र भारतको उडिसामा अक्टोबर ११ देखि १५ सम्म हुने एसियन टिम टेबलटेनिस च्याम्पियनसिपमा शीर्ष १२ स्थानमा रहन सफल भए दक्षिण एसियाली छनोटमा दोश्रो हुने राष्ट्रले पनि इङल्यान्ड यात्राको अवसर पाउने छ ।