
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विस्थापित परिवारलाई स्वदेश तथा विदेशबाट अत्यावश्यक सामग्रीसहित राहत आउनेक्रम जारी छ ।
विदेशी सहायतामा आउने राहतका सामग्री सिधै प्रभावित जिल्ला र स्थानीय पालिकाहरुमा पठाइने गरिएको छ । विदेशी राष्ट्रहरुले अहिलेसम्म बाढी पीडित परिवारका लागि भनेर ९ समूहका १ सय ७६ किसिमका राहत सामग्रीहरु पठाएका छन् ।
कति राहतका सामग्री आए त बाढी प्रभावित जिल्लाहरू रसुवा र नुवाकोटका पालिकाहरुमा ?
बाढी प्रभावित रसुवा र नुवाकोटका पालिकाहरुमा विदेशी सहायताका सामग्रीहरु आउनेक्रम जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारणले आएका सामग्रीहरु त्रिभुवन विमानस्थलमा रहेको आपतकालीन गोदामघरमा संकलन गरेर सिधै सम्बन्धित जिल्ला तथा पालिकाहरुमा पठाउने गरेको छ ।
विदेशबाट आउने सहयोगका सामग्रीहरु निगरानी गर्ने काम भने परराष्ट्र मन्त्रालयमार्फत गरिएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले विपद् प्राधिकरणमा आफ्ना प्रतिनिधि नै खटाएको छ । रसुवासहित बाढी प्रभावित जिल्लाहरु नुवाकोट, धादिङ तथा गोरखाकालागि अत्यावश्यक निर्माणसहित दैनिक आवश्यक पर्ने सामानहरु टेन्ट, डोरी, कमल, सिरानी, स्लिपिङ ब्याग, म्याट, किचनका सामग्री, ग्यास, स्टोपलगायतका सामग्रीहरु रहेका छन् ।
त्यसैगरी विदेशबाट माक्स, स्लिपर, स्यानेटेरी प्याड, टचलाइट, बेबी किटसहितका सामानहरु आएका छन् । विपद् प्राधिकारणका अनुसार ९ समूहका १ सय ७६ किसिमका सामानहरु अहिलेसम्म आइसकेका छन् । विदेशबाट आएका ५ लाख ५८ हजार २ सय ६५ सामग्रीहरुमध्ये ४ लाख ६४ हजार ९६ थानसम्बन्धी प्रभावित पालिकाहरुमा पठाइसकिएको छ ।
विदेशबाट आएका सहयोगका सामानहरु प्रभावित जिल्लामा पठाइसकेपछि सम्बन्धी जिल्लाका कुन कुन पालिकाहरुमा पुर्याइँदैछ र कहाँ पुग्यो भन्ने डिजिटल प्लेटफर्म सेतु र्यापिड एपबाट अनुगमन गरिन्छ । केन्द्रबाट जिल्ला र स्थानीय तहका लागि पठाइएका सामानहरुको केन्द्रबाट नै अनुगमन गरिने भएकाले थप प्रभावकारी भएको प्राधिकारणको भनाइ छ।
प्रधानमन्त्री कार्यालयका अनुसार बिहीबारसम्म भारतबाट ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध भएको छ भने चीनले ५० टन राहत सामग्री उपलब्ध गराएको छ । पाकिस्तानले ८६ टन राहत सामग्री उपलब्ध गराएको छ भने यूएईले पठाएको ८३ टन अत्यावश्यक राहत सामग्री आइपुगेको छ ।
कतारले पनि ४० टन राहत सामग्री उपलब्ध गराएको छ भने फ्रान्सले पनि राहत सामग्री पठाएको छ ।